काठमाडौं– नेपालमा उत्पादित बिजुली निर्वाधरुपमा निर्यातका लागि बाटो खुलेको छ। भारतले यसअघिको विवादित क्रसबोर्डर विद्युत व्यापार निर्देशिका परिमार्जन गरेसँगै अब नेपालमा उत्पादित बिजुली निर्यात गर्ने बाटो खुला भएको हो।
नयाँ निर्देशिकालाई विद्युत आयात/निर्यात (क्रसबोर्डर) निर्देशिका, २०१८ नाम दिइएको छ। यो निर्देशिका भारतको उर्जा मन्त्रालयले गत मंगलबार जारी गरेको हो। नयाँ निर्देशिकाले २०१६ मा जारी भएको क्रसबोर्डर विद्युत व्यापार निर्देशिकालाई खारेज गरिदिएको छ।
आफ्नाे लगानीमा निर्माण भएका आयोजनाको मात्र बिजुली किन्नेगरी यसअघि जारी गरिएको निर्देशिकालाई परिमार्जन गरेर भारतले आफ्नाे बाहेकका लगानीमा बनेका आयोजनाको पनि बिजुली किन्ने बाटो खोलिदिएको छ।
बाह्य मुलुकबाट विद्युत आयात गर्दा आफ्नो सरकार वा सरकार माताहतका निकायको स्वामित्व वा लगानी हिस्सा हुनुपर्ने व्यवस्था यसअघि भारतले जारी गरेको निर्देशिकामा थियाे। जसको नेपालमा विरोध हुँदै आएको थियो।
यस्तो व्यवस्थाका कारण नेपालमा उत्पादित बिजुली भारत निर्यात गर्न असहज थियो।
‘भारत र छिमेकी मुलुकबीचको विद्युत व्यापार (आयात/निर्यात) भारत र ती मुलुकका निकायबीचको पारस्परिक सम्झौता बमोजिम हुनेछ,’ निर्देशिकामा भनिएको छ।
अब भने उत्पादित बिजुली निर्यात गर्न चाहने कम्पनीले भारत सरकारबाट अनुमति लिनुपर्ने भए पनि पहिलेकोजस्तो व्यवस्था हटाइएको छ।
भारतले जारी गरेकाे क्रस बोर्डर विद्युत व्यापार निर्देशिका:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।