काठमाडौं- प्रतिनिधिसभाका सांसदहरूले तत्काल अन्तरिम लेखा परीक्षण गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार सिंहदरबारमा बसेको संघीय संसद अन्तर्गत अर्थ समितिको बैठकमा ‘लेखा परीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको दफावार छलफलमा भाग लिँदै उनीहरूले सो माग गरेका हुन्। यसका साथै सांसदहरूले बढ्दो बेरुजु घटाउन पनि अन्तरिक लेखा परीक्षणको व्यवस्था तत्काल गर्नुपर्ने बताएका थिए।
बैठकमा बोल्दै प्रतिनिधिसभाका सांसद भरतकुमार शाहले बेरुजु बढ्ने अवस्था भएका निकायमाथि तत्काल लेखा परीक्षण गर्ने गरी अन्तरिम लेखा परीक्षणको कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका थिए। 'महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षणसम्बन्धी वार्षिक प्रतिवेदन तयार पारी राष्ट्रपतिलाई बुझाउने संवैधानिक व्यवस्था छ। सो व्यवस्था परिमार्जन गर्नुपर्ने अवस्था आएको छ,' सांसद शाहले भने।
प्रतिनिधिसभाका अर्का सांसद प्रेम सुवालले बेरुजु हुनै नदिने गरी कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। उनले बेरुजु राख्न नदिने कानुनी व्यवस्था गरे मात्रै बेरुजु बढ्न नपाउने तर्क पनि गरेका थिए।
हाल मुलुकमा बेरुजु ५ खर्ब ८ करोड पुगेको छ। बेरुजु फर्स्योट गर्दै लैजाने गरी कानुन बनाउनुपर्ने सांसदहरुको माग छ।
बैठकमा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले संविधान अनुकूल हुने गरी लेखा परीक्षण ऐन संशोधन गर्न सरकारले उक्त विधेयक संघीय संसदमा छलफलमा लागि पेस गरेको स्पष्ट पारे।
'प्रस्तावित विधेयकले लेखा परीक्षणको काम पारदर्शी बनाउने र करको सदुपयोग गर्न सघाउ पुर्याउनेछ,' अर्थमन्त्री खतिवडाको दाबी थियो।
अर्थमन्त्री खतिवडाले सरकारलाई जनताप्रति उत्तरदायी बनाउन पनि सरकारले लेखा परीक्षण सम्बन्धी कानुन संशोधन गर्न लागेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।