जनकपुर– सिरहाका ५ हजारभन्दा बढी उखु किसानहरुले सरकारी अनुदानको ६ करोड रुपैयाँ भन्दा बढीको बक्यौता भुक्तानी अझैसम्म पाउन सकेका छैनन्।
नरहा गाउँपालिका–२, पानवारीस्थित हिमालय सुगर मिल्सलाई उखु बेचेका किसानहरुले अनुदानवापतको बक्यौता नपाएको गुनासो गरेका छन्।
उद्योगलाई उखु बेचेका मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटका गरी ५ हजार ६ सय दुई जना किसानले १० लाख २१ हजार ६७ क्विन्टल उखु बेचेका थिए। उक्त परिमाणको उखुको ६ करोड २ लाख ५४ हजार रुपैयाँ सरकारी अनुदान वापतको रकम नपाएको किसानहरुको गुनासो छ।
नरहा गाउँपालिका–३ का किसान इस्लाम अन्सारीले ४ हजार क्विन्टल उखुको अनुदान २ लाख ६१ हजार एक सय २० रुपैयाँ नपाएको दुःखेसो गरे। ‘सरकारले दिने अनुदानको भुक्तानीका लागि जग्गा धनीपूर्जाको नक्कल मागेर किसानलाई थप दुःख दिइएको छ’, उनले भने, ‘मैले आफ्नो र भाडामा लिएको जग्गामा उखु खेती गरेको छु, भाडाको जग्गाको कसरी जग्गा पूर्जा ल्याउनु?’
उनका छिमेकी साहिद अन्सारीले पनि उखुको अनुदानवापतको ६ लाख ५२ हजार ८ सय रुपैयाँ भुक्तानी नपाएको गुनासो गरे।
सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति क्विन्टल ५ सय ३१ रुपैयाँ २० पैसामध्ये उद्योगले प्रति क्विन्टल ४ सय ६५ रुपैयाँ ९२ पैसा र सरकारले ६५ रुपैयाँ २८ पैसा अनुदान दिने सहमति भएको उखु किसानहरु बताउँछन्। उद्योगले ५ हजार ६ सय २ जना किसानको उखुको रकम फछ्र्यौट गरिसकेको भएपनि सरकारी अनुदानको रकम भने वर्ष दिन बित्न लाग्दा समेत भुक्तानी नभएको हो।
गोलबजार नगरपालिका–८, चोहर्वाका उखु किसान श्रीदेव यादवले चिनी उद्योगलाई उखु बेचेको रकम १० महिनापछि पाएपनि सरकारी अनुदानको रकम अझै नपाएको बताए। ‘उद्योगलाई उखु बेचेको रकम ढिलै भएपनि भुक्तानी पायौं’, उनले भने, ‘अनुदानको रकम पाउन पनि विभिन्न झन्झट आइपरेको छ।’
उखु खेती गर्नुपर्ने समयमा किसानहरु अनुदानको रकम भुक्तानीका लागि दौडधुप गर्नुपर्दा समस्यामा परेको उनले सुनाए।
हिमालय सुगर मिल्सका प्रमुख उखु प्रबन्धक अवधकिशोर यादवका अनुसार उद्योगले प्रति क्विन्टल ४ सय ६५ रुपैयाँका दरले कात्तिकभित्रै किसानको खातामा रकम जम्मा गरिदिएको छ। उद्योगले भुक्तानी गरेकै आधारमा किसानलाई अनुदान रकम दिइनुपर्ने र त्यसका लागि जग्गाधनी पूर्जाको झमेला हटाइनुपर्ने उनले औंल्याए।
यता उखु किसानलाई सरकारले दिने अनुदान रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा जम्मा भइसकेको सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए। ‘चिनी मिलले किसानहरुको विवरण र खाता नम्बरसमेत पठाइसकेको छ’, प्रजिअ पण्डितले भने, ‘भुक्तानीका लागि उखु लगाएको जग्गाकोे धनीपूर्जाको प्रतिलिपी अनिवार्य गरिएको भएपनि सबैको नआएकाले भुक्तानीमा ढिलाइ भएको हो।’
कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहाका प्रमुख राधेश्याम गिरीले अनुदान भुक्तानीका लागि बैंक खाता नम्बर र लालपूर्जा अनिवार्य भएकाले खाता नम्बर आएपनि जग्गा धनीपूर्जाको प्रतिलिपी उपलब्ध नहुँदा रकम भुक्तानीमा कठिनाइ भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।