काठमाडौ - दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने बागमती प्रदेशका खेलाडीलाई प्रदेश सरकारले नगद पुरस्कार दिने घोषणा गरेको छ।
बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले प्रदेश खेलकुद विकास परिषद्को २६औँ विस्तारित बोर्ड बैठकलाई सम्बोधन गर्दै खेलाडीको प्रोत्साहनका लागि पुरस्कारको व्यवस्था गरिएको जानकारी दिएका हुन्। जसअनुसार, प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीले एक लाख, रजत पदक विजेताले ७५ हजार र कांस्य पदक जित्ने खेलाडीले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
हेटौंडाको गौरीटार स्थित प्रदेश खेलकुद परिषद्को कार्यालयमा शनिबार भएको बैठकमा मन्त्री तामाङले दशौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने बागमतीका खेलाडीको सुरक्षा र आवश्यक व्यवस्थापनलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए। खेलाडीको सुरक्षासम्बन्धी कार्यविधि निर्माण गरी स्वीकृतसमेत भइसकेको उनले जानकारी दिए।
मन्त्री तामाङले हालै भोटेकोसीमा आएको बाढीका कारण प्रदेशको खेलकुद क्षेत्र र खेलाडीसमेत प्रभावित भएको उल्लेख गरे। विपत्तिका कारण खेलकुद क्षेत्रमा परेको पीडालाई शक्तिमा बदल्दै आगामी प्रतियोगितामा परिणाममुखी नतिजा ल्याउन उनले प्रदेश खेलकुद विकास परिषद्का पदाधिकारी तथा सदस्यलाई निर्देशन दिए।
उनले खेलाडीलाई प्रतियोगिताका लागि आवश्यक तयारी, प्रशिक्षण र व्यवस्थापनमा कुनै कमी हुन नदिनसमेत आग्रह गरे। राष्ट्रिय स्तरको प्रतियोगितामा प्रदेशको प्रतिष्ठासँगै खेलाडीको व्यक्तिगत क्षमता प्रदर्शन हुने भएकाले उत्कृष्ट नतिजाका लागि सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ थियो।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुँदै छ। प्रतियोगितामा ३२ वटा खेल समावेश गरिने भएको छ।
प्रतियोगितामा बागमती प्रदेशबाट खेलाडी तथा अफिसियल गरी ७८२ जना सहभागी हुनेछन्। जसमध्ये ६५६ जना खेलाडी रहेको प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ।
प्रदेश सरकारले पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने निर्णयले राष्ट्रिय प्रतियोगितामा बागमतीबाट सहभागी हुने खेलाडीको मनोबल बढ्ने अपेक्षा गरिएको मन्त्री तामाङको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।