काठमाडौं- विगत ५ वर्षमा वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा समस्यामा परेका करिब ७ हजार कामदारको प्रवासी नेपाली समन्वय समिति (पिएसिसी)ले उद्धार गरेको दाबी गरेको छ। सन् २०१३ देखि २०१७ सम्मको अवधिमा खाडी राष्ट्र र मलेसियासहित अन्य देशमा रोजगारीमा गई समस्यामा परेका सो संख्याका नेपालीलाई उद्धार गरेको पिएसिसीले दाबी गरेको हो।
सो अवधिमा ६ हजार ५ सय ४३ जना पुरुष र ४ सय ७ जना महिला गरी जम्मा ६ हजार ९ सय ५० जनाको उद्धार गरेको पिएनसिसि जानकारी दिएको छ।
सोमबार १८औं विश्व आप्रवासन दिवसका अवसरमा आयोजित एक कार्यक्रममा पिएसिसीले ५ वर्षको अवधिमा सबैभन्दा बढी मलेसियाबाट उद्धार गरेको जानकारी गराएको छ। मलेसियापछि साउदी गएका कामदार समस्यामा पर्ने गरेको पिएनसिसिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।
वैदेशिक रोजगारीका क्रममा कामदार समस्यामा पर्ने गरेको पीएनसिसीका अध्यक्ष कुलप्रसाद कार्कीले बताए। रोजगारीमा गई विदेशमा समस्या पर्ने नेपाली नागरिकका विषयमा सरकार गम्भीर नभए भविष्यमा ठुलो चुनौती खडा हुने उनको भनाइ छ।
वैदेशिक रोजगारीका क्रममा रोजगारदाता देशमा नेपाली कामदार समस्यामा पर्ने क्रम रोक्न सरकारले विषेश योजना ल्याउन लागेको र यो क्षेत्रका विकृति रोक्न गम्भीर भएर काम गरिरहेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका प्रवक्ता दीनबन्धु सुवेदीले बताए।
खाडीराष्ट्र गएका कामदार उद्धार गर्न समस्या हुने गरेको परराष्ट्र मन्त्रालय अन्तर्गत राहदानी विभागका सहसचिव विजयकुमार राउतले बताए। कम्पनी र कलकारखानामा काम गर्न गएका कामदारलाई उद्धार गर्ने केही सहज भएपनि हाउसमेडमा गई समस्यामा परेका महिला कामदारको उद्धार गर्न समस्या हुने उनको भनाइ छ।
पिएसिसीले ५ वर्षमा मलेसियाबाट १ हजार ५ सय ४२ जना कामदारको उद्धार गरेको जानकारी दिएको छ। मलेसियापछि सबैभन्दा बढी साउदीबाट गएका कामदार समस्या र अलपत्र पर्ने गरेको पाइएको छ।
साउदीबाट १ हजार ५ जना, कतारबाट ४ सय ३३ जना, युएईबाट १ सय ८३ जना, ओमनबाट ५६ जना, बहराइनबाट १९ जना, लेबनानबाट १९ जना र सिरियाबाट ७ जना रोजगारीमा गई विदेशमा समस्या परेका कामदारको उद्धार गरेको पिएनसिसिले जनाएको छ।
यो अवधिमा वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका ७ सय ८३ जना नेपालीको शव स्वदेश ल्याउन सहयोग गरेको पिएसिसीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। रोजगारदाता देशमा सम्पर्कविहीन भएका २ सय ८७ जना कामदारलाई परिवारको सम्पर्कमा ल्याउन समेत सहयोग गरिएको पिएनसिसिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।