काठमाडौं– बैंकिङ क्षेत्रमा तरलता अभाव भएको भन्दै बैंकर्स संघले व्यक्तिगत मुद्दतिमा बैंकहरुले आफ्नो आवश्यकताअनुसार ब्याजदर बढाउन सक्ने सहमति गर्याे। सो निर्णयपश्चात् बैंकहरुले ब्याजदर बढाउने प्रतिस्पर्धा गरे। तर, सहमति भएको १५ दिन बितिसक्दा ९ बैंकले मात्रै मुद्दति निक्षेपमा ब्याजदर बढाएका छन्।
संघले यसअघिको व्यवस्थाअनुसार मुद्दतिमा अधिकतम साढे १० प्रतिशतसम्म मात्र ब्याजदर तोक्न पाउने सहमति तोडेपछि कतिपयले बैंकहरुबीच ब्याजदर बढाउन अस्वस्थ प्रतिस्पर्धा चल्ने बताइएको थियो। तर, आँकलन गरिएअनुसार भने प्रतिस्पर्धा हुन सकेको देखिँदैन।
नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सूचिकृत २७ वाणिज्य बैंकमध्ये अधिकांश बैंकको कर्जा पूँजी निक्षेप अनुपात (सिसिडी रेसियो) ८० प्रतिशत नजिक पुगेको छ। ती बैंकहरुले निक्षेप बढाएर ‘सिसिडी रेसियो’ घटाउन आवश्यक छ।
बैंकहरुले प्रकाशित गरेको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार सिटिजन्स बैंक इन्टरनेसनल, सिभिल बैंक, सेन्चुरी बैंक, मेगा बैंक नेपाल, जनता बैंक नेपाल, नेपाल बंगलादेश बैंक, सिद्धार्थ बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी), सानिमा बैंकलगायतका बैंकहरु थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेको दखिन्छ। यी बैंकको सिसिडी रेसियो असोज मसान्तमा नै ७९ प्रतिशत भन्दा माथि थियो।
राष्ट्र बैंकको नीति अनुसार वाणिज्य बैंकहरुले अधिकतम ८० प्रतिशतसम्म सिसिडी रेसियो पुर्याउन पाउनेछन्।
मुद्दति निक्षेपमा ब्याजदर १३ प्रतिशसम्म पुग्यो
बैंकर्स संघको सहमतिपश्चात् ९ वाणिज्य बैंकले मात्रै मुद्दति निक्षेपमा ब्याजदर बढाएका छन्। ब्यजादर बढेर १३ प्रतिशतसम्म पुगेको छ। १३ प्रतिशत मुद्दति निक्षेपमा ब्याजदर दिने घोषणा गर्ने बैंकमा सेन्चुरी कमर्सियल बैंक, मेगा बैंक र कुमारी बैंक रहेका छन्। असोज मसान्तसम्म सेन्चुरी बैंकको सिसिडी रेसियो ७९ दशमलब ५० प्रतिशत, कुमारी बैंकको ७९ दशमलब ९१ प्रतिशत र मेगा बैंकको ७९ दशमलब ६१ प्रतिशत रहेको छ।
त्यस्तै, ब्याजदर बढाउने बैंकमा जनता बैंक नेपाल, लक्ष्मी बैंक, माच्छापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, प्राइम बैंक र सनराइज बैंक छन्। तर, असोज मसान्तसम्म सिसिडी रेसियो पुगेका सिटिजन्स बैंक, सिभिल बैंक, नेपाल बंगलादेश र सानिमा बैंकले अझै ब्याजदर बढाएका छैनन्।
यता स्ट्यान्डर्ड चाटर्ड बैंकले मुद्दति निक्षेपमा सबैभन्दा थोरै ब्याज दिएको छ भने बैंकको सिसिडी रेसियो पनि सबैभन्दा कम ६८ दशमलब ३४ प्रतिशत रहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।