काठमाडौं- संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले समायाेजन प्रक्रियामा सहभागी हुने कर्मचारीका लागि प्रश्न र तिनको जवाफ तयार गरेको छ। मन्त्रालयले दुई दर्जनभन्दा बढी प्रश्न तयार गरेको हो।
कर्मचारी समायोजन सम्बन्धनमा पटकपटक सोधिने प्रश्न र तिनको जवाफ तयार गरी सम्बन्धित सरोकारवालालाई जानकारी उपलब्ध गराएको मन्त्रालयले जनाएको छ।
कर्मचारी वृत्तमा निकै चासोका साथ हेरिएको ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएपछि मन्त्रालयले काम अघि बढाएको हो।
'कर्मचारी समायोजन अध्यादेश, २०७५' बमोजिम संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन कार्य प्रारम्भ भइसकेको मन्त्रालयले जनाएको छ। समायोजन प्रक्रियामा सहभागी भई १५ दिनभित्र आफ्नो विवरण राष्ट्रिय किताबखानामा अद्यावधिक गर्न मन्त्रालयले सबै निजामति कर्मचारीलाई ‘एसएमएस’मार्फत जानकारी गराएको छ। ८८ हजार १ सय ६३ कर्मचारीलाई मन्त्रालयले यस्तो एसएमएस पठाएको हो।
त्यस्तै, साबिकका स्थानीय निकायबाट स्थायी नियुक्ति पाई बहाल रहेका कर्मचारीलाई आफ्नो कार्यपालिकाबाट निर्णय गराई स्थायी नियुक्तिको सक्कल प्रति रुजु गरी १० दिनभित्र समायोजनको पत्र मन्त्रालयलाई उपलब्ध गराउनसमेत सबै स्थानीय तहलाई परिपत्र गरिएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।