सुर्खेत। हिमपात र पहिरोका कारण हुम्लाको सदरमुकाम सिमकोटदेखि नेपाल–चीन सीमास्थित हिल्सा जोड्ने सडक अवरुद्ध भएको छ। नाम्खा गाउँपालिका–४ यालबाङ र सिमकोट गाउँपालिका–७ ठाडोढुङ्गामा सडक अवरुद्ध भएपछि हिल्सा–सिमकोट सडकखण्ड पूर्ण रूपमा बन्द भएको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुवै स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। माथिल्लो हिमाली क्षेत्रमा १२ किलोमिटरभन्दा बढी सडकमा हिउँ जमेकाले सडक सञ्चालनमा ल्याउन चुनौती देखिएको प्रशासनले जनाएको छ।
सडक बन्द हुँदा हिल्सा तथा नाम्खा गाउँपालिकाका विभिन्न बस्तीबाट सिमकोट आउने नागरिक प्रभावित भएका छन्। दसैँ नजिकिँदै गर्दा घर फर्कने नागरिक, स्थानीय व्यापारी तथा पर्यटकलाई आवतजावतमा समस्या भएको छ। सडकमार्फत ढुवानी हुने दैनिक उपभोग्य सामग्री तथा स्थानीय उत्पादनको ओसारपसारमा समेत असर परेको छ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले अवरुद्ध सडकलाई एक साताभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको बताए। तत्काल थप हिमपात नभए उक्त अवधिभित्र सडक खुलाउन सकिने उनको भनाइ छ।
‘दुर्गम तथा हिमाली क्षेत्रमा सबै सामग्री एकैपटक उपलब्ध हुँदैन। स्रोतसाधन जुटाउन नै समस्या हुने भएकाले काम गर्न कठिन हुने गरेको छ,‘ उनले भने। यसैबीच सल्लीसल्लादेखि सिमकोटसम्मको सडकखण्ड भने पहिरो तथा ढुङ्गा पन्छाएर सञ्चालनमा ल्याइएको प्रशासनले जनाएको छ। तर, सिमकोटदेखि हिल्सासम्मको सडकखण्डका विभिन्न स्थानमा हिमपात र पहिरोका कारण यातायात सञ्चालन हुन सकेको छैन।
माथिल्लो हिमाली क्षेत्रमा भारी हिमपात भएपछि सडकको लामो दूरीमा हिउँ जमेको छ। हिउँ पन्छाउन आवश्यक मेसिन तथा जनशक्ति परिचालन गर्नसमेत कठिनाइ भइरहेको प्रशासनले जनाएको छ।
हिल्सा–सिमकोट सडक हुम्लाको उत्तरी क्षेत्रलाई सदरमुकामसँग जोड्ने मुख्य मार्ग हो। नाम्खा गाउँपालिकाका विभिन्न बस्तीका नागरिक स्वास्थ्य उपचार, दैनिक उपभोग्य सामग्री खरिद तथा सरकारी कामका लागि यही सडकमार्फत सिमकोट आउने–जाने गर्छन्।
सडक अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्ने नागरिकले वैकल्पिक रूपमा हेलिकोप्टर प्रयोग गर्नुपर्ने अवस्था आएको छ। तर, हेलिकोप्टरको भाडा महँगो भएकाले सर्वसाधारणमाथि थप आर्थिक भार परेको स्थानीयको गुनासो छ।
ताक्लाकोटबाट फर्किएका नेपाली हिल्सामै रोकिए
हिमपातका कारण चीनको ताक्लाकोटबाट फर्किएका केही नेपाली नागरिक हिल्सा क्षेत्रमा रोकिएका छन्। नाम्खा गाउँपालिकाका विभिन्न वडाका नागरिक ताक्लाकोटबाट फर्कने क्रममा हिल्सामा रोकिएको बताइएको छ।
मौसम तथा सडकको अवस्था सहज नभएसम्म उनीहरूलाई हिल्साबाट सिमकोटतर्फ आउन कठिन हुने भएको छ। सडक खुलाउन ढिलाइ भए दसैँ मनाउन घर फर्कने नागरिक थप प्रभावित हुने देखिएको छ।
हिल्सा नाका चीनको ताक्लाकोट हुँदै कैलाश मानसरोवर जाने नेपाली तथा विदेशी पर्यटकका लागि महत्वपूर्ण मार्ग हो। सडक अवरुद्ध हुँदा हिल्सा क्षेत्रको पर्यटन तथा व्यापारिक गतिविधिमा समेत असर परेको छ।
पर्यटन व्यवसायी नोर्बु लामाले भोटेकोसीमा आएको बाढीपछि हुम्लाका सबै पर्यटकीय क्षेत्र बन्द भएको भन्ने गलत सूचना फैलिँदा पर्यटन क्षेत्रमा थप असर परेको बताए। हुम्लाका सबै पर्यटकीय क्षेत्र बन्द नभएको भन्दै उनले पर्यटकीय क्षेत्रको वास्तविक अवस्थाबारे सही सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए।
भोटेकोसीमा आएको बाढीका कारण अन्य नाका प्रभावित भएपछि हिल्सा नाका व्यापार तथा आवागमनका दृष्टिले थप महत्वपूर्ण बनेको छ। यस्तो अवस्थामा हिल्सा–सिमकोट सडकसमेत अवरुद्ध हुँदा सीमावर्ती क्षेत्रको व्यापार, ढुवानी तथा आवागमनमा थप समस्या भएको छ।
प्रशासनले तत्काल थप हिमपात नभए एक साताभित्र सडक सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। सडक खुलेपछि दसैँमा घर फर्कने नागरिकको आवागमन सहज हुनुका साथै सीमावर्ती क्षेत्रको व्यापार तथा पर्यटन गतिविधि नियमित हुने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।