काठमाडौं– महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ललितपुरको गोदामचौरमा भएको सामूहिक बलात्कार काण्डका दुई अभियुक्तलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–१, गोदामचौरका २१ वर्षीय विशालध्वज कार्की र सोही ठाउँका २१ वर्षीय पवन कुँवर छन्।
ललितपुरको गोदामचौरमा एक युवतीमाथि कार्की र कुँवरसहित रघु सिलवालले सामूहिक बलात्कार गरेका थिए। बलात्कारको आरोपमा पक्राउ परेका उनीहरु जिल्ला अदालत ललितपुरको गत वर्षको पुस २६ गतेको फैसला अनुसार तारेखमा छुटेका थिए।
जिल्ला अदालतको निर्णय उच्च अदालत पाटनले उल्ट्याउँदै माघ २५ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। त्यसपश्चात् फरार रहेका उनीहरुमध्ये दुई जनालाई महाशाखाको टोलीले बुधबार गोदावरीबाट पक्राउ गरेको हो।
फरार रहेका सिलवालको खोजी भइरहेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए।
गत वर्षकाे मंसिर २ गते साँझ गोदावरीकी २२ वर्षीया एक विवाहित युवतीमाथि घर फर्किने क्रममा गोदावरी खोलामा सामूहिक बलात्कार भएको थियो।
बलात्कार गर्ने बेला प्रतिवाद गर्दा युवतीको हात भाँचिएको थियो भने टाउकामा ढुंगा प्रहार गरी घाइते बनाएर बलात्कार गरिएकाे थियाे।
गम्भीर घाइते भएकी युवतीको सफल उपचार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।