काठमाडौं– जिल्ला अदालत ललितपुरले मलेसिया जाने कामदारमाथि सिन्डिकेट खडा गरी ठगी गरेको आरोप लागेका भिएलएनका अध्यक्ष राम श्रेष्ठलाई सफाइ दिएको छ।
जिल्ला न्यायाधीश विश्वमंगल आत्रेयको इजलासले मंगलबार श्रेष्ठलाई सफाइ दिने फैसला सुुनाएको हो। जिल्लाको यो फैसलापछि करिब २ करोड ठगी गरेका उनले उन्मुक्ति पाएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जाहेरीले २०७५ असार ३ गते जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेको थियो ।
मलेसिया जाने कामदारमाथि भिएलएन संस्था खडा गरी श्रेष्ठले २०७२ देखि ठगी गर्दै आएको दावीसहित मन्त्रालयले जाहेरी दिएको थियो। मन्त्रालयको जाहेरीपछि श्रेष्ठ भदौ १६ मा पक्राउ परेका थिए। श्रेष्ठ लगायतको सिन्डिकेटवाला संस्थाका कारण सर्वसाधारण नागरिकले रोजगारीका लागि मलेसिया जान चर्को शुल्क तिर्न बाध्य भएका थिए।
सर्वसाधारणको उक्त गुनासोपछि श्रममन्त्री गोकर्ण विष्ट स्वास्थ्यमा देखिएको सिन्डिकेट खारेज गर्दै उनीहरु विरुद्ध आक्रामक भएका थिए।
उनीहरुविरुद्ध मन्त्रालयले नै जाहेरी दिंदै काठमाडाैं, ललितपुर र भक्तपुरमा ठगी मुद्दा दायर भएको थियो। कुल ५ अर्ब यही सिन्डिकेटको नाममा ठगी भएको तत्कालीन समयमा पाइएको थियो।
जेठ २ गते मन्त्री विष्टले ठगी रोक्न भन्दै मलेसिया जाने कामदारमाथि सिन्डिकेट धारी संस्थाहरु बन्द गर्ने निर्णय गरेका थिए। त्यसविरुद्ध उनीहरु सर्वोच्च समेत पुगेका थिए। तर सर्वोच्चले उनीहरुको पक्षमा आदेश जारी नगरेपछि मौन बसेका थिए।
श्रेष्ठलगायत कैलास खड्का, गोविन्द थपलिया ३९ वटा संस्थाले यस्तो ठगी गरेका थिए। उनीहरु विरुद्ध दायर भएको ठगी मुद्दा काठमाडाैं र भक्तपुरमा भने विचाराधीन रहेको छ। श्रेष्ठविरुद्ध दायर भएको निवेदनमा सरकारको दावी पुग्ने प्रमाण प्राप्त नदेखिएकाले सफाइको फैसला भएको जिल्ला अदालतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।