जनकपुर- ‘आजु जनकपुर मे मडवा हो
बड सुहागन लागे...
सीता के चढेला हरदीया
मनभावन लागे...’
(आज जनकपुरमा विवाहको लगन भएकोले निकै रमाइलो भइरहेको छ…)
यस्तै सुमधुर लोक संगीतबीच प्रत्येक वर्ष जनकपुरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव आज पनि धुमधाम साथ मनाइँदैछ।
मिथिलाञ्चलको वैवाहिक परम्परालाई जीवित राख्दै प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीको दिन मनाइँदै आएको यस महोत्सवलाई नेपाल–भारतबीचको आदिकालीन सांस्कृतिक सम्बन्धको रुपमा पनि लिइन्छ।
मंसिर २१ देखि सुरु भएको सात दिवसीय रामजानकी विवाह महोत्सवको आज राम-जानकी विवाह तथा भोलि रामकलेवा हुने जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जनाए।

वैवाहिक कार्यक्रममा सहभागी हुन भारतको अयोध्याबाट ठूलो संख्यामा साधुसन्तहरू जनकपुर आइसकेका छन्।
आज भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि विशेष जन्ती बनेर आउँदैछन्।
विवाह महोत्सवको अवसरमा आज राम मन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगरपरिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुग्ने कार्यक्रम रहेको छ। त्यहाँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल (घरगाउँले समूह वा माइती पक्ष) द्वारा स्वागत अभिवादन कार्यक्रम छ।

राम मन्दिरबाट पुगेको डोलालाई जानकी मन्दिरबाट पुर्याइएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण गरिन्छ। राम मन्दिरबाट पुगेको मण्डपबाट महन्तले जानकीलाई माला लगाई आरतीपूजनपछि स्वयंवर पूरा हुन्छ। त्यसपछि राम मन्दिरको मण्डप अगाडि राखेर सबै पछिपछि लाग्दछन् र जानकी मन्दिर पुर्याएर आरती पूजन गरिन्छ। त्यसपछि राम मन्दिरको डोला लावा लस्करका साथ राममन्दिर फर्कने गर्छन्।
अहिले रामजानकी विवाह पञ्चमी महोत्सवमा सहभागी हुन नेपाल भारत लगायत तेस्रो मुलुकका पर्यटकहरुको भिड लागेको छ।

महोत्सवलाई व्यवस्थित गर्नलाई तीन दिनसम्म माछामासु तथा जाँडरक्सीको बिक्री वितरणमा रोक लगाइएको छ। महोत्सवलाई व्यवस्थित र मर्यादित बनाउन २४,२५ र २६ गते नगरभित्र रहेको साना तथा ठूला होटलहरुमा समेत माछामासु तथा जाँडरक्सी बिक्रीवितरणमा रोक लगाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रवीणराज कँडेलले जानकारी दिए।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।