जनकपुर- राम जानकी विवाह महोत्सवकाे अाज विवाह पञ्चमीकाे दिन। वैवाहिक कार्यक्रममा सहभागी हुन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विशेष जन्ती बनेर जनकपुर आउँदैछन्। मुख्यमन्त्री अादित्यनाथकाे सुरक्षालाई मध्यनजर गर्दै सुरक्षाा व्यवस्था निकै कडा पारिएकाे छ।
सुरक्षा प्रयोजनका लागि भारतबाट विशेष सुरक्षा टोली पनि आइसकेको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिए।
उनकाे सुरक्षाका लागि भारतबाट बुलेटप्रुफ गाडी आइसकेको छ। यस बाहकेका विशेष सुरक्षामा ज्यामरसहित सात वटा अन्य गाडी भित्र्याइएका छन्।
यस्तै, सुरक्षालाई मध्यनजर गर्दै अत्याधुनिक र्यापिड कम्युनिकेसन सिस्टम (आरसिएस) को प्रयोग गर्न लागेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। अत्यधिक भिडभाड हुने अनुमान गर्दै सुरक्षा व्यवस्थाका लागि ड्रोन क्यामेराको प्रयोग गरिने भएको छ।
आरसिएस प्रविधि प्रयोगका लागि परीक्षणसमेत गरिएको डिआइजी पालले जानकारी दिए। उनका अनुसार सुरक्षा निकायका प्रमुखहरु प्रदेश प्रहरी कार्यालयमै बसेर आरसिएस प्रविधिमार्फत सम्पूर्ण जानकारी लिनेछन्।
बाह्रबिघा (रंगभूमि) मैदानमा नेपाल प्रहरीले विशेष क्षमता भएको दुई वटा ड्रोन क्यामेराको परीक्षण गरी सोही माध्यमबाट सुरक्षा अवस्थाको जानकारी लिने तयारी गरिएको छ।
यसैगरी योगी आउँदा कारगेडका लागि व्यवस्थापन चुस्त पारिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रवीणराज कँडेलले बताएका छन्। ‘बुलेटप्रुफ एउटा कारगेड भारत सरकारले उपलब्ध गराएको छ भने अर्को बुलेटप्रुफ नेपाल सरकारले समेत उपलब्ध गराउने छ,’ सिडिओ कँडेलले भने।
यस्तो छ योगीको रुट
मुख्यमन्त्री आदित्यनाथले अाज जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम तय गरिएको छ। पूजा समापनपछि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले ओयाजना गरेको दिवाभोजमा सरिक हुन उनी मुख्यमन्त्री निवास मधेस भवन जानेछन्।
दिवाभोज समापनपछि मुख्यमन्त्री आदित्यनाथ रंगभूमि मैदानमा आयोजना हुने सीतारामको विवाहको स्वयंवरमा सहभागी हुने जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
अहिले जनकपुर नगरभित्र मात्रै १ सय ४२ जना ट्राफिक प्रहरी खटिएको एसपी किरण बज्राचार्यले जानकारी दिए। बज्राचार्यका अनुसार नगरभित्र साना तथा ठूला सवारीसाधन लैजान पाइँदैन।
नगरभित्र आकस्मिक सेवाका सवारीसाधन बाहेकलाई प्रवेश पास अनिवार्य गरिएको छ। योगी आउने रुटमा भोलि सवारीसाधन निषेध गरिएको बज्राचार्यले जानकारी दिए।
योगी आदित्यनाथका लागि जनकपुरको एयरपोर्टदेखि मुरली चोक (विद्यापति चोक), विशहरा चोक, कदम चोक, भानु चोक हुँदै जनक चोकबाट जानकी मन्दिर जाने बाटो निर्धारण गरिएको छ।
त्यसपछि, जानकी मन्दिरबाट प्रदेश प्रहरी कार्यालय, थापा चोक, सहिद चोक, जचुकाली, थापा चोक, प्रदेश प्रहरी कार्यालय हुँदै उत्तर गेटबाट रंगभूमि मैदानसम्म विशेष रुट बनाइएको छ।
पार्किङ स्थानहरू
उत्तर ढल्केबरबाट आउने चारचक्के ठूला र साना गाडीलाई जनकपुरको मुजेलियास्थित मणिपालको खाली ठाउँमा पार्किङ स्थल तोकिएको छ। दक्षिणतर्फ भिठामोडबाट आउने सवारीसाधनलाई नयाँ बसपार्क छेउमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ।

जटही नाकाबाट आउने सवारीसाधनलाई हनुमान नगरमा पार्किङ स्थल राखिएको छ भने जनकपुरको पूर्वबाट आउने सवारीसाधनका लागि कदम चोकभन्दा पछाडि पार्किङ स्थल तोकिएको छ।
अहिले जनकपुरमा श्रद्धालु भक्तजनको चाप बढ्दै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।