काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसका लागि मंगलबार संवैधानिक परिषद्को बैठक बस्दैछ।
बहालवाला प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ गते अनिवार्य अवकाश पाउँदैछन्। उक्त पदमा नियुक्तिका लागि न्याय परिषद्ले यसअघि दुई जनाको नाम पठाएको थियो। संवैधानिक परिषद्ले सोही नामबाट एक जनालाई भावी प्रधानन्यायाधीशको रुपमा सिफारिस गर्नेछ।
यसअघि बसेको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको थियो।
सर्वोच्चका लागि न्यायपरिषद्ले दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम पठाएको छ। जोशी यसअघि नै सुनुवाइ समितिबाट अस्विकृत भएका थिए।
सर्वोच्चबाहेक परिषद्सँग विभिन्न आयोगहरुको अध्यक्ष तथा सदस्यहरुको नियुक्तिका विषयमा छलफल हुने विषयसूची छ।
सुरुमा बैठक ११ः३० बजे बोलाइएको भएपछि नेताहरु उपस्थित हुन नसक्ने भएपछि साँझ ५ बजेलाई सारिएको छ। बैठकमा छलफलका लागि १० वटा विषयसूची तय भएका छन्।
प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले स्वीकार गरे मात्र सर्वोच्चको भावी नेतृत्व चयन हुनेछ।
अहिलेका प्रधानन्यायाधीश मिश्रले अवकाश पाउनुभन्दा एक महिनाअघि नै भावी प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।