काठमाडौं- युरोपेली संघ (इयू)ले नेपाल वायुसेवा निगमसहित नेपालका सबै वायुसेवा प्रदायक कम्पनीलाई कोलासूचीमा राखेकोप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्र अधिकारीले असन्तुष्टि प्रकट गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री अधिकारीले सो विषयमा असन्तुष्टि प्रकट गरेका हुन्।
‘नेपाली वायुसेवा कम्पनीलाई कोलोसूचीमा राख्न उचित छैन। हामीले सबै शर्त पूरा गरेका छौं। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले गम्भीर सुरक्षा चासो (एसएससी)को सूचीबाट नेपाल हटाईसकेको अवस्थामा ईयुको कालोसूचीमा राखिरहनुको कुनै औचित्य छैन,’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने।
कालोसूचीबाट हटाउने विषयमा कुटनीतिक नियोग मार्फत संवाद चलिरहेको बताएका मन्त्री अधिकारीले भने, ‘भिजिट नेपाल २०२० अघि नै इयूको कालोसूचीबाट नेपाल हट्छ।‘
अघिल्लो साता इयूले नेपालका सबै वायुसेवा प्रदायक कम्पनीसहित विश्वका विभिन्न वायुसेवा प्रदायक कम्पनीलाई कालोसूचीमा राखिएको सूचना प्रकाशन गरेको थियो।
नेपाली विमान कम्पनीहरूलाई सन् २०१३ को डिसेम्बरदेखि इयूले कालोसूचीमा राख्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।