नेपालगन्ज– नेपालगन्ज पश्चिम नेपालको प्रमुख सहर मात्रै नभएर नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको गृहनगर पनि हो।
२०४६ सालको जनआन्दोलनपछिका २५ वर्षसम्म सुशील कोइरालाले नेपाली राजनीतिमा उल्लेख्य भूमिका खेल्दै आएका थिए। जसका कारण नेपालगन्जको कोइराला निवास र पार्टी कार्यालयमा मध्यपश्चि क्षेत्रका पार्टी शुभेच्छुक, कार्यकर्ता, नेता, सञ्चारकर्मी, उद्योगी–व्यवसायीदेखि प्रहरी प्रशासनका अधिकारीहरुको समेत चहलपहल हुन्थ्यो।
कोइराला नेपालगन्ज आउँदा नेपालगन्ज उपमहानगरपालिका १० स्थित आफ्ना भाई डा अरुण कोइरला र विजय कोइरालाको घरमा बस्थे। दिउँसो समय मिलाएर पार्टी कार्यालय जान्थे।
यति बेला मुलुक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पूर्वसन्ध्यामा छ। निर्वाचनका कारण उम्मेदवारका आकांक्षीहरुसँगै नेता तथा कार्यकर्ताको चहलपहल पनि बढेको छ। तर, नेपालगन्जको कोइराला निवास र पार्टी कार्यालय भने सुनसान छ। पछिल्ला दिनमा पार्टी कार्यालयमा २–४ जना कार्यकर्ता पनि देखिँदैनन्।
नेपालगन्जस्थित सुनसान कांग्रेस पार्टी कार्यालय
कांग्रेस बाँकेकी पार्टी सभापति एवं सुशील कोइरालाकी भाईबुहारी किरण कोइरालासमेत टिकटको लबिङका लागि काठमाडौं पुगेकी छिन्। बाँके पार्टी सभापति कोइराला मात्र होइन ३० देखि ४० जना उम्मेदवारका आकांशी यतिबेला काठमाडौंमै पुगेको कांग्रेस बाँकेका कार्यालय सचिव कपिलदेव शर्माले बताए।
बाँकेबाट केन्द्र र प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरेर १ सय ७३ जनाले उम्मेदवार बन्ने चाहनाका साथ पार्टीमा आफ्नो दाबी पेश गरेका थिए। तीमध्ये १ सय ३६ जनाको नाम सिफारिस गरिएको सचिव शर्माले जनाए।
उम्मेदवारका आंकाक्षी जति टिकटका लागि दशैंको लगत्तै काठमाडौं गएकाले पार्टी कार्यालय र कोइराला निवास सुनसान बनेको कांग्रेस महासमिति सदस्य महेन्द्र मल्लले बताए।
पूर्व सभापति कोइरालाको निधनपछि शेरबहादुर देउवा पार्टी सभापति र अहिले प्रधानमन्त्री रहेकाले नेता–कार्यकर्ता नयाँ शक्ति केन्द्रतर्फ आकर्षित भएको कोइराला निकट मानिने एक कार्यकर्ताले बताए।
बाँकेका कांग्रेस नेताहरु टिकटका लागि दबाब दिन प्रधानमन्त्री निवास बालुवाटारमा / तस्बिरः बाँकेकी कांग्रेस नेतृ माया पुनको फेसबुकबाट।
‘पूर्व पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला जिवित रहुन्जेल नेता–कार्यकर्ता उनीसम्म आफ्ना कुरा पुर्याउन पनि सुशील कोइराला वरिपरि घुम्ने गर्थे,’ उनले भने, ‘गिरिजाबाबुको निधनपछि कोइराला परिवारको विरासत सुशील कोइरालामा आउँदा नेपालगन्जको कोइराला निवास सधैंभरि नेता–कार्यकर्ताको घेरामा हुन्थ्यो। तर, अहिले सुनसान बनेको छ।’
स्थानीय तहको निर्वाचनमा बाँकेमा दोस्रो शक्तिका रुपमा रहेको कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेसँगै बाँकेका ३ निर्वाचन क्षेत्रमध्ये पूर्व पार्टी सभापतिको कोइरालाको निर्वाचन क्षेत्र अर्थात् नेपालगन्जको सहरी क्षेत्र समेत राप्रपालाई छोड्न सक्ने सम्भावना देखिएको कांग्रेस बाँकेका सचिव तप्त पौडेल बताउँछन्।
गत संविधानसभामा बाँकेका ४ वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नमबर ३ बाट कोइराला निर्वाचित भएका थिए। कोइरालाकै कारण बाँकेबाट समानुपातिकमा भने ५ जनाले सभासद हुने अवसर पाएका थिए। तीमध्ये बादसाह कुर्मी लगातार २ पटक समानुपातिक कोटाबाट सभासद भएका थिए। तर, यस पटक भने तालमेलको नाममा पूर्व पार्टी सभापतिकै निर्वाचन क्षेत्र समेत अरुलाई दिनुपर्ने अवस्था देखिएको भन्दै कांग्रेस कार्यकर्ता निरास छन्।
सुशील कोइराला २०४८ सालदेखि बाँकेबाट निरन्तर चुनाव लड्दै आएका हुन्। २०४८ देखि हालसम्म भएका ५ वटा निर्वाचनमध्ये ३ वटा निर्वाचनमा उनी विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।