काठमाडौं– प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि कात्तिक ३० गते सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
सरकारले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाएको दाबीसहित कार्कीले दायर गरेको रिट शुक्रबार सर्वोच्च अदालतमा दर्ता भएको हो । उनले सरकारको निर्णय बदर गरी आईजीपी पदमा पुनर्बहालीको माग गरेका छन् ।
कार्कीका तर्फबाट अधिवक्ता टिकाध्वज कुँवरले रिट दर्ता गराएका हुन् । सरकारले कुनै कानुनी आधार र प्रक्रिया पूरा नगरी आफूलाई पदबाट हटाएको तथा स्पष्टीकरण र सुनुवाइको अवसरसमेत नदिएको उनको जिकिर छ ।
मन्त्रिपरिषद्को कात्तिक १८ गतेको निर्णयबाट कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरिएको थियो । सरकारले उनको स्थानमा डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिसकेको छ ।
तिहार बिदाका कारण रिटमाथिको प्रारम्भिक सुनुवाइ कात्तिक ३० गतेका लागि तोकिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।