काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणअन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि साइफ जैबले सर्वाधिक ३५ रन बनाए । उनले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरे । विनोद भण्डारीले २७ रनको योगदान दिए । यी दुईले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाएका थिए ।
तर, सुरुवाती साझेदारी टुटेपछि सुदूरपश्चिमको रन गति केही सुस्ताएको थियो । कप्तान दीपेन्द्रसिंह ऐरी १० रनमा आउट भए भने ब्रेन्डन म्याकमुलनले २४ रन बनाए । इशान पाण्डेले १३ बलमा ३ छक्कासहित २३ रन जोडे ।
आरिफ शेख ११ रनमा आउट हुँदा थरिन्दु रथ्नायके र स्कट कुग्गेलाइनले अविजित रहँदै टोलीको स्कोर बढाए । रथ्नायकेले १२ बलमा २२ रन बनाए भने कुग्गेलाइनले ६ बलमा १३ रन जोडे ।
कर्णालीका मार्क वाटले २ विकेट लिए । सूर्य तामाङ र नन्दन यादवले समान एक विकेट हात पारे ।
अंकतालिकामा कर्णाली तीन खेलबाट चार अंकसहित तेस्रो स्थानमा छ । पाँच खेल खेलेको सुदूरपश्चिम पनि चार अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
यी दुई टोलीबीच यसअघि भएका दुवै भेटमा सुदूरपश्चिम विजयी भएको थियो । शुक्रबारको खेलमा कर्णालीलाई हराउँदै सुदूरपश्चिम उक्त नतिजालाई निरन्तरता दिन चाहन्छ भने कर्णाली पहिलो जितको खोजीमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।