पोखरा- किसम गुरुङ घान्द्रुकमा जन्मिए। अध्ययनका लागि पोखरा आए। उनको मनमा थियो- गाउँबाट सहर आइसकेँ, अब फेरि किन गाउँ नै फर्कने?
बाबुआमाको रहर थियो, छोरो ब्रिटिस लाहुरे बनोस्। तर किसमको मन स्थिर थिएन। घरपरिवारको करमा जबरजस्त लाहुरे बन्न तालिम लिन थाले। तालिम लिँदै गर्दा मनमा विदेशको भूत सवार भइसकेको थियो उनमा। अन्तत: देश छोडे।
विदेशमा पनि सजिलो कहाँ थियो र? जुठा भाँडा माझ्नुपर्ने। 'विदेशमा भाँडा माझ्नुभन्दा आफ्नै देशमा गएर माझौला भन्ने लागेर तुरुन्तै नेपाल फर्किएँ,' उनी विगत सम्झिन्छन्।
२०४० सालमा सँगै एसएलसी दिएका साथीहरु आआफ्नो पेसा व्यवसायमा स्थापित हुन खोज्दै थिए। उनीहरुको तुलनामा केही गर्न नसक्दा आफूमा त्यसबेला ग्लानि महसुस भएको किसम सुनाउँछन्।
…
सशस्त्र द्वन्द्वको समय। सरकारी पक्ष होस् वा तत्कालीन विद्रोही माओवादी, दुवैको तारोमा थिए युवाहरु। किमस पनि द्विविधामा परे- सहर पस्ने कि गाउँमै बस्ने?
छोरो लाहुरे नबनेकोमा अभिभावकहरु असन्तुष्ट थिए। 'भौंतारिएर हिँडेकोमा परिवार र आफन्त खुसी थिएनन्,' उनी भन्छन्, 'म लाहुरे बन्छु भन्नेमा उनीहरु ढुक्क पनि थिए। तर म लाहुरे भएरै हराउन चाहिनँ।'
आफन्तबाट दबाब आउने क्रम रोकिएन। किनकि उनीसँगै गण्डकी बोर्डिङ पढेका धेरै साथीहरुले पोखरामा होटल व्यवसाय सुरु गरिसकेका थिए।
'आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने भावले जस्तोसुकै जोखिम मोल्न म तयार थिएँ,' उनमा ऊर्जा सेलाइसकेको थिएन, 'फुल्दै गरेको कोदोबारी फाँडेर होटल सुरु गर्ने योजना थियो। तर परिवारबाटै गाली पाएँ।'
बारीको पाटोमा कोदो जसरी मौलाएको थियो, उनीभित्र पनि होटल निर्माणको योजना त्यसरी नै मौलाइरहेको थियो। तर उनलाई साथ दिनेभन्दा धेरै विरोध गर्ने निस्किए।
उनले योजनालाई तुहाउन सकेनन्। अन्तत: बिस्तारै अरुले बुझ्दै गए। 'सत्यको जित भएरै छाड्छ भनेझैं मेरो सपनाले पनि साकार रुप लियो,' उनी सुनाउँछन्, 'फुल्दै गरेको कोदोबारी फाँडेर फित्ता नाप्न थालेँ। गाउँमा त तमासा जस्तै भयो।' अन्नबाली मासेर जग हाल्न तम्सिने किसमलाई कतिपयले त पागलसम्म भन्न भ्याएछन्। ऋणपानका लागि परिवारले सहयोग गरेपछि उनले थप आड पाए।
…
सशस्त्र संघर्षको मार घान्द्रुकले पनि खेप्यो। गाउँलेहरु दोहोरो मारमा थिए। कहिले माओवादीले नियन्त्रणमा लिने त कहिले सुराकीको आरोप लगाउँदै सेनाले यातना दिने।
घान्द्रुकका कुनै होटल छैनन्, जहाँ माओवादी कार्यकर्तालाई खाना नखुवाइएको होस्। 'धेरैले मेरो हालत पनि अन्य व्यवसायीको जस्तै हुन्छ, जोखिम नलिनु भने सम्झाए तर म जोखिमको लागि तयार भइसकेको थिएँ,' उनमा आँट थियो, 'कोही कसैबाट डराइनँ र हिम्मत हारिनँ। किनकि मलाई काम गर्न लाज लागेन।'
परिवारको साथ र आफ्नो इच्छाशक्तिले नै आज उनी सफल होटल व्यवसायी बनेका छन्। २० वर्षदेखि गुरुङ कटेज चलाइरहेका उनले केही व्यक्तिलाई रोजगारी समेत दिएका छन्। २० लाखबाट सुरु गरेको उनको व्यवसायले करोडौंमा फड्को मारिसकेको छ।
'घान्दुक जस्तो पहाडको ठाउँमा पनि पाहुनालाई आवश्यक पूर्वाधारमा कमी हुन दिएको छैन,' आज उनी खुसी छन्, 'यहाँ आउने हरेक स्वदेशी-विदेशी पर्यटकलाई खुसी बनाएरै पठाएको छु।'
घान्दुकमा विदेशी पर्यटकलाई मात्रै बास बस्ने व्यवस्था हुन्थ्यो कुनै बेला। अहिले यहाँका होटल व्यवसायमा धेरै सुधार आएको छ। यहाँका होटलहरुमा गुरुङ समुदायको मौलिक कला संस्कृति देख्न सकिन्छ।
पहिलेको तुलनामा कास्कीको पर्यटकीय गन्तव्य घान्द्रुक पुग्न यातायातको सहजता छ। केहो वर्षअघिसम्म डुम्ले नयाँपुलबाट पैदल हिँड्नुपर्ने बाध्यता थियो। अहिले किम्चेसम्मै बस र माइक्रो सञ्चालन हुन्छन्। किम्चेबाट एक घन्टामा पुगिन्छ घान्द्रुक। यही छोटो रुटका कारण पनि आन्तरिक पर्यटकको संख्या बढेको छ।
पर्यटक आउने सिजन सुरु भइसकेको छ यतिबेला। यहाँका कुनै पनि होटल खाली छैनन्।
'यहाँको सुन्दरतालाई विश्वभर चिनाउन अझ धेरै गर्नुपर्छ भन्ने लागेरै हामी प्रचारप्रसारमा खटिएका छौं,' किसम भन्छन्, 'बन्दहडताल र चक्काजाम जस्ता क्रियाकलाप सधैंको लागि बन्द भए पर्यटनको क्षेत्रमा नेपालले धेरै फड्को मार्न सक्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।