रसुवा- सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका नेपाल-चीन-केरूङ व्यापार संघका अध्यक्ष मानबहादुर तामाङ तीन वर्षदेखि नै प्रहरीको निगरानीमा रहेको खुलेको छ। ८८ केजी सुन तस्करीमा मुख्य भूमिका खेलेका नेपाली एजेन्ट तामाङलाई प्रहरीले केही दिनअघि स्वयम्भूबाट पक्राउ गरेको थियो।
विभिन्न सामानको अवैध ओसारपसारमा संलग्न रहेको आशंकामा प्रहरीले उनीमाथि निगरानी गरिरहेको थियो। तामाङ पहिलेदेखि नै दुई नम्बरी धन्दाको कारोबारमा सक्रिय थिए। 'रक्तचन्दन, मूर्ति तथा अवैध सुन ओसारपसारमा सक्रिय भएका उनलाई निगरानी गरिरहेका थियौं,' रसुवाका एक सुरक्षा अधिकारीले भने, 'लामो प्रयासपछि पक्राउ गर्न सफल भयौं।'
प्रहरीको आँखा छल्न उनी चीन तथा भारतमा लुकीछिपी बस्दै आएका थिए। जिल्लामा हुने विशेष कार्यक्रम र चाडपर्वमा मात्र उनी रसुवा आउँथे।
मंसिर १० गते हुने प्रदेशसभाको चुनावका लागि रसुवा क्षेत्र नम्बर १ बाट पार्टीले समानुपातिकमा सिफारिस गरेपछि चीनबाट उनी काठमाडौं आएका थिए। सोही क्रममा उनी स्वयम्भूबाट पक्राउ परेका हुन्।
तीन वर्षअघि रसुवामा रक्तचन्दनसहित चिनियाँ नागरिक पक्राउ परेपछि उनलाई छुटाउनका लागि तामाङले सक्रिय भूमिका निर्वाह गरेका थिए। उनी चिनियाँसँग मिलेर तस्करीमा संलग्न हुँदै आएको प्रहरीको भनाइ छ।
स्रोतका अनुसार तामाङसँग अहिले ८ वटा स्कर्पियो गाडी छ। चिनियाँ नागरिक वान विई मिङको लगानीमा उनले गाडी खरिद गरेका हुन्, मिङ र उनका पत्नी याङ वेन विङ ठमेलस्थित काठमाडौं वन होटलका सञ्चालक हुन्। ती दम्पत्ती चीनबाट नेपाल सुन ल्याउने र भण्डार गर्नेसम्मको जिम्मेवारी पाएका कारोबारी हुन्। उनीहरुले भारत तस्करीका लागि तयारी अवस्थामा राखेको ८८ केजी सुन विशेष सुराकीका आधारमा बरामद भएको प्रहरीले बताएको छ।
मिङले ११ वर्षदेखि तिब्बत, नेपाल र भारतमा तस्करी सञ्जाल सञ्चालन गर्दै आएको बताइएको छ।
मध्यम वर्गीय परिवारमा जन्मिएका उनको घर रसुवाको गोल्जुङमा पर्छ। उनले काठमाडौंमा इलेक्ट्रोनिक सामग्रीको व्यापारबाट आफ्नो व्यावसाय सुरु गरेका थिए। पछि काठमाडौं सहकारी दर्ता गरेर त्यसमा आबद्ध थिए। सुन तस्करी काण्डमा पक्राउ परेका अन्य अभियुक्तले तामाङको नाम दिएपछि प्रहरीले उनको खोजी अगाडि बढाएको थियो। यसअघि प्रहरीले गत असोज ३ गते यही सुन प्रकरणमा काठमाडौंका ५ जना सुन व्यापारी पक्राउ गरेको थियो।
प्रहरी टोलीले भदौ १९ गते बिहान क्षेत्रपाटीमा पार्किङ गरिरहेको अवस्थामा ८८ केजी सुनसहित चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।