काठमाडौं– एमबिबिएसको नक्कली प्रमाणपत्र लिएको आरोप लागेका नोबेल मेडिकल कलेज विराटनगरका सञ्चालक सुनील शर्मा नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभामा सिफारिस भएका छन्।
कांग्रेसको मोरङ जिल्ला समितिले आसन्न निर्वाचनमा शर्माको नाम मोरङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्षका लागि सिफारिस गरेको हो।
यसैगरी, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवा तथा गण्डकी मेडिकल कलेज पोखराका सञ्चालक खुमा अर्याललाई पनि कांग्रेसले स्याङ्जा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरेको छ। संविधानसभा निर्वाचन २०७० मा पनि अर्याल कांग्रेस तर्फबाट समानुपातिक उम्मेदवारमा सिफारिस भएका थिए। अर्याल प्रधानमन्त्री देउवा र शर्मा कांग्रेस नेता शेखर कोइराला निकट छन्।
मोरङ कांग्रेस सभापति डिगबहादुर लिम्बूका अनुसार क्षेत्र नम्बर ३ बाट उनी एक्लैको नाम सर्वसम्मतिले आएको हो। ‘केन्द्रले गाउँ र क्षेत्रलाई अधिकार दिएको थियो, त्यसैअनुसार शर्माको नाम सिफारिस भएर आएछ, हामीले हस्तक्षेप गर्न पाएनौं,’ लिम्बूले भने, ‘हामीले सुनील शर्माको नाम सिफारिस गर्न चाहेका थिएनौं, गाउँ–क्षेत्रबाट आएको नाम काट्ने अधिकार जिल्लालाई छैन।’ सुनील शर्माको नाममा केन्द्रदेखि नै लबिङ भएका कारण धेरै बोल्न नमिल्ने उनले बताए।
केन्द्रीय अनुसन्धान ब्युरोमा नवराज सिलवाल प्रमुख भएका बखत नक्कली प्रमाणपत्रधारी डाक्टर समात्ने अभियान ‘अपरेसन क्वाक’ चलाउँदा शर्मा फरार भएका थिए। त्यतिबेला ब्युरोमा कार्यरत एक अधिकृतका अनुसार वीरगञ्ज, जनकपुर, विराटनगरबाट डाक्टरहरू पक्राउ गर्दासमेत शर्मा फेला परेका थिएनन्।
नोबेल सञ्चालक शर्मा कांग्रेसको तेह्रौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि सिफारिस भएका थिए। मोरङ क्षेत्र नम्बर ८ बाट त्यतिबेला सिफारिस हुँदा सोही क्षेत्रबाट दोस्रो संविधानसभा निर्वाचन उठेका नेता रमेशजंग रायमाझी छुटेका थिए। रायमाझी भन्छन्, ‘८ नम्बर क्षेत्रको चुनावमा मैले दोस्रो मत ल्याएँ, तर म नै महाधिवेशन प्रतिनिधिमा शर्माका अगाडि घुँडा टेक्नुपर्यो।’
रायमाझीका अनुसार त्यसबेला केन्द्रीय नेताहरूको पहुँचमा शर्माले महाधिवेशन प्रतिनिधि हत्याएका थिए। उनी सोही सालमात्र कांग्रेसको सक्रिय सदस्य भएका थिए। सक्रिय सदस्यता लिएको केही समयमै महाधिवेशन प्रतिनिधि बन्ने सुनील शर्मा सम्भवतः कांग्रेसकै पहिलो कार्यकर्ता हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।