काठमाडौं- विजयकुमार गच्छदारले बालुवाटार पुगेर तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई कांग्रेस त्याग्ने जानकारी गराए। उनलाई गिरिजासहित सुशील कोइराला, चक्र बास्तोला, अर्जुन नरसिंह केसी लगायतले पार्टी नछोड्न सुझाव दिए। गच्छदारले त्यही दिन मधेस रोजे र पार्टी छोडे।
त्यो दिन थियो- २०६४ माघ १८ गते।
१० वर्षपछि बालुवाटारमै कार्यक्रम गरेर गच्छदार पुन: कांग्रेसमै फर्किएका छन्। पुरानो पार्टी फर्किँदा गच्छदार एकातिर गदगद थिए भने अर्कातिर भावुक।

पार्टी समायोजन कार्यक्रममा बालुवाटार प्रवेश गर्दा उनमा बेग्लै चमक देखिन्थ्यो। एकीकरण कार्यक्रममा राजनीतिक सहमतिपत्र सार्वजनिक भएपछि गच्छदारको सम्बोधन गर्ने पालो आयो। 'जय मधेस, जय मातृभूमि'मा बानी परेका गच्छदारले तीन पटक 'जय नेपाल'को नारा लगाए। हलमा तालीको गडगडाहट सुनियो।
पार्टी कांग्रेसमा विलय गराएका गच्छदार गौरव गरिरहेका थिए। १० वर्षपछि कांग्रेसमा फर्किन पाउँदा उनको मुहारमा गुदगुदी छाएको थियो। आफ्नो उत्साहलाई शब्दमा व्यक्त गर्दै गच्छदारले भने, 'पार्टी विलय गराएकोमा मलाई कतिले गाली गर्दै होलान् तर १० वर्षपछि कांग्रेसमा फर्किँदा मलाई गौरव लागेको छ। मेरो नसानसामा कांग्रेसी रगत बगेको छ।'

एमाले र माओवादी केन्द्रको एकतापछि आफू पनि कांग्रेससँग एकता गर्ने निष्कर्षमा पुगेको उनको भनाइ थियो। कम्युनिस्ट पार्टीबीचको सहकार्यले मुलुकमा लोकतान्त्रिक शक्तिलाई कमजोर बनाएर कम्युनिस्ट सर्वसत्तावाद ल्याउन खोजिएको उनले दाबी गरे। 'लोकतन्त्र सिध्याउने र कम्युनिस्ट सर्वसत्तावाद ल्याउने खेल अब कमजोर हुनेछ। लोकतन्त्र बलियो बनाउन लोकतान्त्रिक शक्तिबीच बृहत् एकता आवश्यक छ,' उनले भने, 'हामी अब अरुलाई पनि समाहित गर्ने प्रयत्न गर्नेछौँ।'
आफू कांग्रेसमा समाहित भएपछि कांग्रेसको मधेसमा उपस्थिति अझ बलियो हुने उनको भनाइ थियो। प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी गर्दै उनले थपे, 'आफ्नै गुँडमा कमजोर बनेको थियो कांग्रेस। एकीकरणपछि हामी अब बलियो हुनेछौँ। निर्वाचनमा बहुमत आउनेछ।'
गच्छदार, शेरबहादुर देउवा र रामचन्द्र पौडेलसँगै पार्टीको केन्द्रीय सदस्य बनेका थिए। आफ्ना पुराना मित्रलाई फेरि कांग्रेसमा ल्याउन पाउँदा दुवे नेताको अनुहारमा पनि खुसी छाएको थियो।
प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले गच्छदारको प्रवेशले कांग्रेसलाई अझै बलियो बनाउने बताए। 'कांग्रेसमा स्वागत छ, तपाईंको उपस्थितिले पार्टीलाई अझ बलियो बनाउनेछ,' देउवाले भने।

वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल लोकतान्त्रिक पार्टी र कांग्रेसबीचको एकता हिमाल, तराई र पहाडबीचको एकता भएको अर्थ्याए। 'यो एकता दुई पार्टीको मात्रै होइन। तपाईँको प्रवेशले लोकतन्त्रको सुदृढीकरणमा अझ मद्दत पुग्नेछ,' पौडेलले भने।
गच्छदार गतिलै पदमा बार्गेनिङ गरेर कांग्रेस प्रवेश गरेका हुन्। उनलाई महामन्त्री वा उपसभापतिमध्ये एक दिने सहमति भएको छ। निर्वाचनपछि उनको पदको टुंगो लगाउने कांग्रेसको तयारी छ। तर एकता घोषणामा गच्छदारले निसर्त एकीकरण गरिएको दाबी गरे। लोकतन्त्र जोगाउन बिनासर्त कांग्रेसमा प्रवेश गरेको उनको भनाइ थियो। 'म छुट्टै निर्वाचन लड्ने तयारीमा थिएँ तर लोकतन्त्र सुदृढ गर्नुपर्छ भन्ने आवश्यकता महसुस गरेर खुन बगाएको पार्टीमा फेरि आएँ,' उनले भने।
१० वर्षअघि मधेस रोजेर कांग्रेस छोडेका गच्छदारले पार्टीमा फर्किएपछि संविधान संशोधन, मधेस मुद्दा समाधान र थारुहरुको अधिकार प्राप्तिका लागि कांग्रेसबाटै थप क्रियाशील हुने उनले उद्घोष गरे।
सम्बन्धित समाचार:
कांग्रेस र लोकतान्त्रिक फोरमबीच भयो यस्तो सहमति (पूर्ण पाठसहित)
कांग्रेस थप बलियो भयो, गच्छदारज्यूलाई स्वागत छः देउवा
कांग्रेस प्रवेश कार्यक्रममा गिरिजाप्रसादलाई सम्झँदै रोए गच्छदार, तीन विषयमा सहमति
गच्छदार कांग्रेसमा समायोजन: लिखित सहमति भयो, एकता घोषणा आज
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।