काठमाडौं– विदेशी गिरोहसँग मिलेर फेसबुकमार्फत करोडौं ठग्ने तीन युवा पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मोरङका प्रदीप सुब्बा, बुढानीलकण्ठका सन्तोष बस्नेत र पवन न्यौपानेलाई पक्राउ गरेको हो। उनीहरुले विदेशबाट महँगो पार्सल पठाएको र त्यसबापत भन्सार शुल्क लाग्ने भन्दै पैसा मगाएर ठगी गरेको सिआइबीका एसपी जीवन कुमार श्रेष्ठले बताए। ‘दुई जना महिलाकै एक करोड रुपैयाँ ठगी गरेको उजुरी परेको छ,’ एसपी श्रेष्ठले भने,‘उनीहरुले अरुलाई पनि ठगी गरेको हुन सक्छन्।’
ती महिलाहरुलाई बेलायती पुरुषहरुले फेसबुकमा साथी बनाई महँगो उपहार पठाइदिएको भन्दै भ्रममा पारेर ठगी गरेका हुन्। उताबाट महँगो गहना पठाएको भन्दै फेसबुकमा फोटो पठाइन्थ्यो। त्यसको केही दिनपछि आफूहरु भारतको एयरपोर्टबाट बोलेको भन्दै ती महिललाई फोन आउँथ्यो। करोडौंको सामान आएको र त्यसका लागि मनी ट्रान्सफरमार्फत पैसा चाहिने भन्दै उनीहरु महिलाबाट मोटो रकम माग गर्थे।
उक्त पैसा उनीहरुले पवन न्यौपाने र सन्तोष बस्नेतको नाममा पठाएका थिए। उनीहरुले सुब्बाको आग्रहमा आफूहरुले आइएमईमार्फत पैसा बुझेको बताएपछि सुब्बा पनि पक्राउ परेका हुन्। सुब्बाको अन्तर्राष्ट्रिय गिरोहसँग सम्बन्ध रहेको प्रहरी आशंका छ।
फेसबुकमा चिनेको व्यक्तिको महँगो उपहारको लोभमा पर्दा महिलाहरु ठगीएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।