प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समायोजन कार्यक्रम थियो। कार्यक्रमका फोरमका सबै नेताहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा गुन्डा नाइके गणेश लामा पनि सहभागी भएका थिए। न त उनलाई गेटमा प्रहरीले छेक्यो, न त कार्यक्रम स्थलमा प्रवेश गर्न कसैले रोक्यो।
लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतका नेताहरु मञ्चमा प्रवेश गरेसँगै लामा पनि पछिपछि उतै लागे।
नेपाल लोकतान्त्रिक फोरमका उपस्थित नेता मञ्चमा गएर बस्न थाले। गुन्डा नाइके गणेश लामा पनि मञ्चमा गएर बसे। प्रधानमन्त्री कार्यालयमा सुरक्षार्थ खटिएका एक सुरक्षाकर्मीलाई त्यो दृश्य अस्वभाविक लाग्यो। उनले लामालाई हटाउने प्रयत्न गरे। उनले आफू पनि नेपाल लोकतान्त्रिक फोरमको केन्द्रीय नेता भएको दाबी गरे। र, मञ्चबाट नजाने अड्डी कसे।
लामा कार्यक्रम अवधिभर मञ्चमै बसे।
लामाविरुद्ध सम्पत्ति सुद्धिकरणको मुद्दा विशेष अदालतमा चलिरहेको छ। मुद्दा फैसला नभएको र अन्य अपहरण मुद्दामा समेत आरोप लागेका व्यक्ति मञ्चमै बसेर ताली बजाएका थिए।
पार्टीहरुले कार्यकता भन्दा गुन्डाहरुलाई संरक्षण गरेको आरोप लगिरहेकोे समयमा लामा नेपाली कांग्रेसको मञ्चमा बसेका हुन्।
केही समय पहिले नेकपा एमाले प्रवेश गर्दै दिपक मनाङ्गे मनाङबाट उम्मेदवार सिफारिस भएका थिए।
(रातो घेरामा गणेश लामा)



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।