पोखरा– पर्यटकीय नगरी पोखरामा आन्तरिक तथा बाह्य पर्यटकले अब बग्गीमा चढेर यात्रा गर्न पाउने भएका छन्।
पर्यटन प्रवर्धनको उद्देश्यका साथ बग्गी एन्ड हर्स राइडिङ प्रालिले पोखरामा आइतबारदेखि बग्गी सेवा सञ्चालनमा ल्याएको छ।
पोखरामा दृश्यावलोकन, प्याराग्लाइडिङजस्ता पर्यटनका विभिन्न आयामद्वारा मनोरञ्जन लिने गरेका पर्यटकलाई बग्गी चढ्ने अवसर प्रदान गर्ने सोचका साथ बग्गी सेवा सञ्चालन गरिएको बग्गी एन्ड हर्स राइडिङ प्रालिका सञ्चालक शान्त शर्माले बताए।
'नेपालका सन्दर्भमा राजा महाराजा तथा उच्च पदस्थ अधिकारीले मात्र बग्गी चढ्ने परम्परा थियो,' उनले भने, 'आगामी दिनमा सर्वसाधारणका साथै पर्यटकले पनि यसको भरपूर मनोरञ्जन लिन सकून् भन्ने उद्देश्यले यो सेवा सञ्चालन गरेका हौँ।'
बग्गी सेवा सञ्चालनको उद्घाटन गर्दै सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव गोविन्दसिंह भण्डारीले पर्यटकीय नगरी पोखरामा बग्गी सेवा सञ्चालनले यहाँका पर्यटकीय आयाममा नयाँ इँटा थपेको बताए।
नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य वासु त्रिपाठीले बग्गी सेवा सञ्चालनबाट पर्यटक थप लाभान्वित हुने बताउँदै यसलाई सुव्यवस्थित एवं प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।