काठमाडौं– व्यवसायीको अपहरणमा प्रयोग गरी प्रेमिकाको हत्या गर्ने प्रकाश लामिछानेलाई नेपाल प्रहरीले दुबईबाट पक्राउ गरी आइतबार नेपाल ल्याएको छ। उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले ‘रेड कर्नर’ नोटिस जारी गरेको थियो।
उनले असनका व्यवसायी श्यामसुन्दर अग्रवालको अपहरण गरी फिरौती असुल्न आफ्नी प्रेमिका राधिका श्रेष्ठलाई प्रयोग गरेका थिए। अपहरण गराएर फिरौती लिएपछि घटना लुकाउन उनले प्रेमिकाकै हत्या गरी बोरामा राखेर फालेका थिए।
यसरी भएको थियो अपहरण
काठमाडौंको मक्खनगल्लीस्थित न्यु डालिज सारी र सारी संसार नामक पसल चलाउने अग्रवालकै पसलमा काम गर्थिन् राधिका। उनको सुन्दरताबाट ६२ वर्षीय अग्रवाल प्रभावित थिए। त्यो कुरा लामिछानेलाई थाहा थियो। अग्रवालको त्यही कमजोरीको फाइदा उठाउँदै प्रेमिकालाई प्रयोग गरी अपहरण गर्ने योजना उनले बनाएका थिए।
गत फागुन ५ गते दिउँसो राधिकाले अग्रवाललाई फोन गरेर भेट्न बोलाइन्। त्यो दिन उनले बिदा लिएकी थिइन्। अग्रवाल सुन्धारास्थित सनराइज गेस्ट हाउसको ४०४ नम्बर कोठामा पुगे। राधिकाले उनलाई बियर पिउने प्रस्ताव गरिन्। तर उनले बियर पिउने इच्छा देखाएनन्। त्यहीबीचमा तीन जना युवा कोठामा प्रवेश गरे, र अग्रवालको मुख थुन्दै हातखुट्टा बाँधे।
आफूहरु सिआइबीबाट आएको प्रहरी भन्दै उनीहरुले धम्क्याए। हुन्डीको कारोबार गर्ने सूचना पाएकाले जेल हाल्ने धम्की दिए। जेल जानबाट जोगाउने भन्दै उनीहरूले पैसाको डिल सुरु गरे। डरले थरथर कामेका अग्रवाल तत्काल पैसा दिन तयार भए। उनको साथमा थियो ७० हजार रुपैयाँ। उक्त समूहले आफ्नै एक ‘महिला प्रहरी’ (राधिका) लाई थप पैसा लिन पसलमा पठाउने बताए।

त्यहाँ पुगेर अग्रवाललाई फोन गरिन् ‘सर केके ल्याउनु भन्नुभएको हो?’ पसलमा रहेका व्यक्तिलाई सामान्य आर्थिक कारोबारको भान दिन उनले त्यसरी फोन गरेकी थिइन्। पसलको काउन्टरमा रहेका व्यक्तिलाई अग्रवालले दुई लाख नगद र आठ लाखको चेक दिन निर्देशन दिए। सोहीअनुसार राधिका चेक बोकेर आइन्।
आफ्नै नाममा चेक लिँदा पछि फसिने भएकाले पसल नजिकै बस्ने ओमप्रकाश देवलाई त्यसका लागि फकाइन्। उनले आफ्ना साथी छोटु यादवलाई लिएर आए। उनीहरू दुवै न्युरोडमै रहेको एस डेभलपमेन्ट बैंकको शाखामा गए। देव भारतीय नागरिक भएकाले उनको परिचयपत्र बैंकले नमानेपछि यादवको परिचयपत्रको प्रतिलिपि लिएर उनीहरूले आठ लाखको चेक साटे। युवती पैसा लिन बैंकमै पुगेकी थिइन्। पैसा लिएपछि गेस्ट हाउसमा रहेका युवकहरूले अग्रवालको मुखमा पट्टी लगाई हातखुट्टा बाँधेर बाहिरबाट चुक्कुल लगाई भागेका थिए।
अग्रवालका छोरा आफ्ना बाबु बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी लिएर गए। अनुसन्धान सुरु गरेको केहीबेरमै अग्रवाल सनराइज गेस्ट हाउसमा भेटिएको भन्दै प्रहरीले खबर पाएको थियो। होटलको कोठाभित्र कसैले लगातार ढकढक गरेपछि होटलमा बसेका व्यक्तिले होटलका कर्मचारीलाई खबर ढोका खोलेका थिए।
घरभित्रै प्रेमिकाको हत्या
किशोर गिरी र सरोज घोरासैने दुईदुई लाख रुपैयाँ लिएर ट्याक्सी चढी भक्तपुर गए। प्रकाश र राधिका अर्को ट्याक्सी चढेर बागेश्वरीस्थित प्रकाशको घरमा पुगे। बेलुका चारै जना सोही घरमा जम्मा भएका थिए। पैसा हात पारे पनि प्रकाशमा पक्राउ पर्ने त्रास कायमै थियो। अग्रवालकै पसलमा काम गर्ने भएकाले सुरुमा राधिकामाथि नै प्रहरीले अनुसन्धान हुने र त्यसपछि आफू पनि फस्ने डर उनमा थियो। त्यही डरले उनले पैसाका लागि प्रेमिकाकै हत्या गरे आफूहरू जोगिने आँकलन गरे।
प्रेमिकालाई हत्या गरे प्रहरीले घटनामा आफ्नो संलग्नता थाहा नपाउने उनको योजना थियो। सोहीअनुसार राधिकाको हातखुट्टा बाँधी मुखमा पट्टी लगाएपछि सलले घाँटी कसेर हत्या गरेका थिए। शवलाई बोरामा प्याक गरी घरबाट करिब तीन सय मिटर टाढा रहेको मुहानपोखरीमा उनलाई गाडिएको थियो।
महिना दिनपछि खुल्यो रहस्य
अपहरणमा संलग्न भएकाले राधिका फरार भएको प्रहरी अनुमान थियो। तर, अपहरणको १५ दिनपछि युवतीको शव भेटिएपछि अनुसन्धानले नयाँ मोड लियो। हत्यापछि पक्राउ पर्ने डरले प्रकाश र किशोर भारतमा गएका थिए भने सरोज भने काठमाडौंमै बस्दै आएका थिए। किशोर भारतबाट फर्कंदा चैत ९ गते विमानस्थलबाट पक्राउ परेका हुन्। सरोज मुख्य अभियुक्त प्रकाशकै मामाका छोरा हुन्। उनी प्रकाशकै परिवारसँग बस्दै आएका थिए। हत्यापछि पक्राउ पर्ने डरले लामिछाने भारत हुँदै दुबई गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।