काठमाडौं– चिकित्साशास्त्र अध्ययन संस्थानले लिएको एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउने गिरोहमाथि साइबर अपराध र ठगी मुद्दा चलाइएको छ।
गिरोहका १० जनालाई साइबर र ठगी मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए। दुई जनालाई शिक्षा ऐन अन्तर्गत कारबाही अघि बढाइएको छ। विद्यार्थीहरुलाई भने प्रहरीले छाडिदिएको छ।
गिरोहका नाइके समीर झासहित शैलेन्द्रकुमार झा, देवेश झा, नवराज निरौला, आशुतोष झा, हिरेन्द्र शर्मा, मुकेश राय, सञ्जयकुमार यादव, ज्ञानेन्द्र ठाकुर र अजय यादवलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही अघि बढाएको हो। त्यस्तै भारतीय नागरिकद्वय सुविशदेव र सौभरकुमारलाई शिक्षा ऐन नुसार कारबाही अघि बढाइएको छ।
त्रिभुवन विश्वविद्यालयमा एमडी अध्ययनरत सुविशदेवले अर्का विद्यार्थीको परीक्षा दिन जाँदा पक्राउ परेका थिए।
संगठित रुपमा नै झाको गिरोहले कानभित्र लुकाइने गोप्य डिभाइसमार्फत चिट चोराएको थियो। प्रतिव्यक्ति पाँच लाख रुपैयाँ लिएर उनीहरुले चिट चोराउँदै आएका थिए। प्रश्नपत्र पहिले नै गिरोहले प्राप्त गरेको आधारमा यसमा आइओएमको समेत संलग्नता रहेको प्रहरीले आशंका गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।