सर्वोच्च अदालतबाट ११ जना न्यायाधीशलाई हटाउने चलखेल समाप्त भएको छ। न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सर्वोच्च प्रशासनले मुद्दा दरपीठ गरिसकेकाले यसमा थप फैसला गर्नुपर्ने भन्दै आदेश दिएपछि ११ जना न्यायाधीशलाई घर फर्काउने चलखेल समाप्त भएको हो।
यसअघिनै सर्वोच्चको पूर्ण इजलासबाट ११ जना न्यायाधीश सम्बन्धी विवाद टुंगो लागेको थियो। तर केही कानुन व्यवसायी र पूर्व महान्यायाधिवक्ताले फेरी त्यो मुद्दा ब्युँताएर सर्वोच्चमा नयाँ न्यायाधीश नियुक्ति गर्ने चलखेलमा लागेका थिए। पूर्व महान्यायधिवक्ता रमण श्रेष्ठ, न्यायपरिषदका पूर्व सदस्य उपेन्द्र केसरी न्यौपाने लगायतले दरपीठविरुद्ध अधिवक्ताद्वय गणेशप्रसाद पाण्डे र श्रवणकुमार श्रेष्ठमार्फत ११ जना न्यायाधीश हटाउन माग गर्दै असोज २२ गते रिट निवेदन दायर गराएका थिए। सर्वोच्च प्रशासनले रिट दरपीठ गरेपनि उनीहरुले इजलासमा निवेदन दिएपछि त्यस विषयमा आज बहस भएको थियो। अपूरो न्यायपरिषद्ले गरेको नियुक्ति सिफारिस गैरसंवैधानिक भएको निवेदकहरूले दाबी गरेका थिए। नियुक्ति कानुनसम्मत भएको भन्दै सुशीला कार्की प्रधानन्यायाधीश हुँदा भएको बेला सर्वोच्चले त्यस मुद्दा किनारा लगाएको थियो ।




न्यायाधीश मिश्रको इजलासले सर्वोच्च प्रशासनले दरपीठको निवेदनलाई सदर गरेको छ। सर्वोच्चको पूर्ण इजलासलाई आधार मान्दै दरपीठको निवेदन सदर गरिएको प्रवक्ता नारायण पन्थीले बताए।'त्यस मुद्दालाई सर्वोच्चको पूर्ण इजलासले किनारा लगाइसकेको थियो त्यसैलाई आधार मानेर दरपीठ सदरको आदेश आएको छ,' पन्थीले भने।
नयाँ न्यायाधीश नियुक्त गर्दा हालका भन्दा जुनिएर व्यक्ति न्यायाधीश हुने भएपछी ११ जना न्यायाधीशलाई फिर्ता पठाउने मनसायले रिट निवेदन दायर भएको थियो।
तत्कालिन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको कार्यकाल सकिनै लाग्दा सर्वोच्चमा ११ न्यायाधीश नियुक्ति भएका थिए। न्याय परिषद्ले १८ फागुन २०७२ मा सर्वोच्च अदालतका ११ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो । प्रधानन्यायाधीश श्रेष्ठसहित वरिष्ठतम न्यायाधीश सुशीला कार्की र कानुनमन्त्री अग्नि खरेल सम्मिलित न्यायपरिषद्ले ११ जनाको नाम सिफारिस गरेको थियो । पुनरावेदन अदालतका मुख्य न्यायाधीशबाट ७ जना र कानून व्यवसायीबाट ४ जना सिफारिसमा परेका थिए । परिषदले दिपककुमार कार्की, केदार चालिसे, मिरा खड्का, शारदाप्रसाद घिमिरे, हरिकृष्ण कार्की, विश्वम्वरप्रसाद श्रेष्ठ, इश्वर खतिवडा, आनन्द मोहन भट्टराई, अनिल कुमार सिन्हा, प्रकाश राउत र सपना प्रधान मल्ल न्यायाधीशलाई रोलक्रममा राखेर सिफारिस गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।