सोलुखुम्बु– सल्लेरी बजार कुनै समय यस्तो थियो, जहाँ ग्राहकको भीडले व्यापारीलाई हैरान बनाउँथ्यो। आज त्यही सल्लेरीमा पसलहरू खुला छन्। तर ग्राहकको प्रतीक्षामा व्यापारीका आँखा थाक्न थालेका छन्।
हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरी कुनै समय निकै व्यस्त बजारका रूपमा चिनिन्थ्यो। कुनै समय यही बजारमा ग्राहकको भीडले व्यापारीलाई सास फेर्नसमेत फुर्सद हुँदैनथ्यो। होटलमा कोठा पाउन गाह्रो हुन्थ्यो। सरकारी कार्यालयहरू सेवाग्राहीले भरिभराउ हुन्थे। सडकमा मानिसको ओहोरदोहोरले बजार जीवन्त देखिन्थ्यो।
आज त्यही सल्लेरी धेरैका लागि अपरिचितजस्तै बनेको छ। विशेषगरी शनिबार र आइतबारको दुईदिने बिदामा बजार अझ सुनसान हुन्छ। पसल खुला हुन्छन, सामान सजिएका हुन्छन, तर ग्राहकको संख्या औँलामा गन्न सकिने खालको हुन्छ।
पहिले ग्राहकलाई पालो मिलाउन गाह्रो पर्ने व्यापारीहरू अहिले घण्टौँसम्म कुर्सीमा बसेर ग्राहकको बाटो हेर्छन्। ग्राहक नआएपछि कोही मोबाइल चलाएर समय बिताउँछन, कोही घरायसी काममा व्यस्त हुन्छन्। कतिपय व्यापारीका लागि अहिले व्यापारभन्दा प्रतीक्षा नै दैनिकी बनेको छ।
यो दृश्य केवल सल्लेरीको मात्र होइन। पछिल्लो समय हिमाली तथा पहाडी क्षेत्रका धेरै बजारमा यस्तै अवस्था देखिन थालेको छ। शहरीकरण र बजारीकरणसँगै गाउँमा बसोबास गर्ने जनसंख्या घट्दै गएको छ। रोजगारी, शिक्षा, स्वास्थ्य सेवा र अन्य अवसरको खोजीमा मानिसहरू जिल्ला बाहिर वा काठमाडौं तथा विदेशतर्फ गएका छन्। गाउँ खाली हुँदा गाउँसँग जोडिएका स्थानीय बजारको ग्राहक आधार पनि सँगै खुम्चिएको छ। व्यापारको आधार नै जनसंख्या हो। जब उपभोक्ता बाहिरिन्छन बजारको चहलपहल पनि उनीहरूसँगै बाहिरिन्छ।
स्थानीय व्यापारीहरूका अनुसार बजारमा आएको परिवर्तनको अर्को कारण अनलाइन किनमेल पनि हो। पहिले दैनिक उपभोगदेखि लत्ताकपडासम्मका सामान स्थानीय पसलबाट किनिन्थ्यो। अहिले मोबाइलमै केही क्लिक गरेर घरसम्म सामान पुग्ने सुविधा बढेपछि स्थानीय पसलमा आउने ग्राहकको संख्या घटेको उनीहरूको अनुभव छ।
अनलाइन प्लेटफर्मसँग मूल्य, विविधता र डेलिभरीको प्रतिस्पर्धा गर्न साना बजारका व्यापारीलाई झन् कठिन हुँदै गएको छ। सल्लेरी बजारको सुनसानपनलाई केवल व्यापार घटेको घटनाका रूपमा मात्रै हेर्न मिल्दैन। यसले हिमाली जिल्लाको स्थानीय अर्थतन्त्रमा भइरहेको गहिरो परिवर्तनलाई पनि संकेत गर्छ।
जब बजारमा ग्राहक कम हुन्छन्। तब व्यापारीको आम्दानी घट्छ। आम्दानी घटेपछि नयाँ लगानी रोकिन्छ। रोजगारी सिर्जना हुने सम्भावना कमजोर हुन्छ। त्यसले थप मानिसलाई बाहिरिन प्रेरित गर्छ। यसरी स्थानीय अर्थतन्त्र एउटा चक्रमा फस्न थाल्छ।
आज सल्लेरीका सडकमा पहिलेको जस्तो भीड छैन। होटलहरूमा पहिलेको जस्तो चाप छैन। पसलमा ग्राहकको लाइन छैन। तर व्यापारीहरूले अझै सटर बन्द गरेका छैनन्। उनिहरुमा फेरी कुनैदिन बजारको रौनक फर्किने आशा जिवितै देखिन्छ। त्यसैले त उनीहरू प्रत्येक बिहान पसल खोल्छन् सामान मिलाउँछन् र ग्राहकको प्रतीक्षा गर्छन्। सल्लेरीको कथा एउटा बजारको कथा मात्र होइन। यो गाउँबाट सहरतर्फ बगिरहेको जनसंख्याको कथा हो। यो रोजगारीको खोजीमा बाहिरिएका युवाहरुको कथा हो र यो कुनै समय जीवन्त बजार आज आफ्नै पुरानो चहलपहल फर्किने आशामा बसेको हिमाली बजारको कथा हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।