काठमाडौं– बाढीपछि उद्धार गरिएका व्यक्तिको आईसीयूमा उपचार भइरहेका बेला अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिल नेपालले चासो देखाउँदै सम्बन्धित पक्षसँग जवाफ मागेको छ।
रसुवामा बाढी आएको १० दिनपछि जलविद्युत् आयोजनाको पावरहाउसबाट उद्धार गरिएका व्यक्तिको उपचारका क्रममा लिइएको भिडियो अन्तर्वार्ता सार्वजनिक भएपछि त्यसको शैली र प्रक्रियामाथि प्रश्न उठेको थियो। सोही प्रकरणमा सञ्चारकर्मी सुरजसिंह ठकुरीसहित तीन निकायलाई काउन्सिलले पत्राचार गरेको हो।
काउन्सिलले सोमबार जारी गरेको विज्ञप्तिमा घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सम्बन्धित पक्षलाई पत्राचार गरिएको उल्लेख गरेको छ। उद्धारपछि स्वास्थ्य उपचारमा रहेका व्यक्तिको संवेदनशील अवस्थालाई ख्याल नगरी अन्तर्वार्ता लिइएको हो कि होइन भन्ने विषयमा सार्वजनिक रूपमा आलोचना भइरहेको छ।
बीबीसी नेपालीको सामग्री पनि निगरानीमा
यसैबीच प्रेस काउन्सिलले सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा फेला परेका एक पथप्रदर्शकको अस्पतालस्थित आईसीयूबाटै लिइएको अन्तर्वार्तासम्बन्धी सामग्री पनि अनुगमन गरिरहेको जनाएको छ।
उक्त भिडियो अन्तर्वार्ता बीबीसी नेपालीले प्रसारण गरेको थियो। उपचाररत व्यक्तिको स्वास्थ्य अवस्था र सञ्चार सामग्री उत्पादनबीचको सीमाबारे प्रश्न उठेपछि काउन्सिलले उक्त सामग्रीमाथि पनि निगरानी थालेको हो।
काउन्सिलले दुवै घटनामा सञ्चार आचारसंहिता तथा पत्रकारिताको संवेदनशील पक्ष पालना भए–नभएको विषयलाई अध्ययन गरिरहेको जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।