काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर देखिएको आन्तरिक विवाद तत्कालका लागि समाधानतर्फ उन्मुख भएको छ। तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले असोज ३ गतेदेखि सुरु हुने महाधिवेशन प्रक्रिया बहिष्कार नगरी सहभागी हुने निर्णय गरेको छ।
सभापति गगन थापा नेतृत्वको टोलीले खड्का पक्षले उठाउँदै आएका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि महाधिवेशन प्रक्रियामा सहभागी हुन खड्का पक्ष तयार भएको हो।
खड्का पक्षका माग सम्बोधन गर्ने तयारीस्वरूप सभापति थापाले आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। बैठकबाट महाधिवेशनअघि विवादित विषय टुंग्याउने प्रयास हुने बताइएको छ।
खड्काले गत वैशाख दोस्रो साता पार्टीभित्रको विवाद अन्त्य गर्दै समग्र एकता कायम गर्ने उद्देश्यसहित आठबुँदे माग अघि सारेका थिए। उक्त मागमा पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षको समेत सहमति रहेको थियो।
खड्का पक्षले विशेष महाधिवेशनपछि पार्टीको संरचनाबाट बाहिरिएका नेताहरूको व्यवस्थापनलाई प्रमुख मुद्दाका रूपमा उठाउँदै आएको थियो। १४औँ महाधिवेशनबाट पदाधिकारी तथा केन्द्रीय सदस्य बनेका तर विशेष महाधिवेशनपछि जिम्मेवारीबाट बाहिरिएका नेताहरूलाई पुनः समायोजन गर्नुपर्ने उसको माग छ।
देउवा, खड्का र कोइराला पक्षबाट १४औँ महाधिवेशनमा निर्वाचित भई पछि जिम्मेवारी गुमाएका पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या १११ रहेको बताइएको छ।
अब कार्यसम्पादन समितिको बैठकमार्फत ती नेताहरूको समायोजनलगायत खड्का पक्षका मागमा सहमति जुटाउने प्रयास हुनेछ। यससँगै कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया सबै पक्षलाई समेटेर अघि बढ्ने सम्भावना बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।