एचआइभीलाई जित्‍ने शारीरिक सुगठनका च्याम्पियन

नेपाल लाइभ | २०७४ असोज २९ आइतबार | Sunday, October 15, 2017 ०४:५९:०० मा प्रकाशित

जटिल रोगले गाँजेपछि बिरामी शारीरिक रुपमा गल्ने त छँदै छ, हतास भएर हार मान्न पुग्छ । तर, यस्ता पनि व्यक्ति हुन्छन्, जसले रोगसँग जुधेर सामान्य जीवनभन्दा माथि उठ्दै आफ्नो क्षमता देखाउँछन्।  

भारत मणिपुरका प्रदीपकुमार सिंह यस्तै कोटिमा पर्छन् । एक समयका एचआइभी संक्रमित प्रदीप शारीरिक सुगठनको विश्वव्यापी प्रतियोगितामा पदक जित्ने खेलाडी हुन् । 

युवा उमेरमा उनी लागूऔषधको नशामा झुम्म हुन्थे । एक समय उनी नराम्ररी बिरामी परे । अस्पताल गएर रगत परीक्षण गराउँदा डाक्टरले उनको हातमा एचआइभी पोजिटिभको रिपोर्ट थमाइदिए।

त्यस बेला उनी छाँगाबाट खसे झैँ भए । यो थियो सन् २००० को घटना।

लागूऔषध प्रयोग गरेको बेलादेखि समाजले तिरस्कार गरेको उनलाई एचआइभी लागेपछि बहिष्कार गर्नु नौलो थिएन । जिन्दगीको कुनै मोडमा समाजले बहिष्कार गरेको प्रदीप अहिले त्यही समाजका लागि प्रेरणाको स्रोत बनेका छन्।

भारतको कुल जनसंख्यामध्ये शून्य दशमलब २ प्रतिशतमा एचआइभी पोजिटिभ छ । त्यसमध्ये ८ प्रतिशत मणिपुरका बासिन्दा रहेको तथ्यांक मणिपुर एड्स नियन्त्रण समाजको छ । प्रदीप त्यहीँ जन्मिएका हुन् । एड्स रोगी परिवारको हेपाइ, सामाजिक तिरस्कारमा पर्छन् । प्रदीपले केही समय परिवारको हेपाइ सहे, सामाजिक तिरस्कारलाई सहज रुपमा लिए । सकारात्मक सोच विकास गरेर आफ्नो जीवनलाई नयाँ मोड दिए।

मणिपुरको अस्पतालको एक कुनामा प्रदीपको बिछ्यौना थियो, उनी त्यहीँ डाक्टरलाई कुर्थे । तर, उनलाई जाँच्न कुनै डाक्टर आउँदैनथे । डाक्टरहरुको व्यवहारले उनलाई त्यहीँ प्राण त्यागूँ जस्तो भएको थियो।

कुनै समय लागूपदार्थ 'मेथाडोन' र 'मेथेफिटामिन'को नशामा रहने उनलाई त्यसपछि शारीरिक सुगठनको प्रतियोगिता जितेर मेडल लिने नशा लाग्यो । कडा परिश्रमपछि उनी मणिपुरमा आयोजित प्रतियोगितामा सहभागी भए । मिस्टर मणिपुरको उपाधि जिते । क्षेत्रीय प्रतियोगिताबाट उपाधि उचालेपछि प्रदीप राष्ट्रिय प्रतियोगितामा पुग्दै मिस्टर इन्डिया भए।

उनको यात्रा त्यतिमै सीमित भएन । मिस्टर साउथ एसिया भए र शारीरिक सुगठनको विश्वव्यापी प्रतियोगितामा कास्य पदक समेत जिते।

शारीरिक सुगठनका लागि आवश्यक पर्ने निरन्तर व्यायाम गर्न उनलाई सहज थिएन । लागूपदार्थ प्रयोगका कारण उनी शारीरिक रुपमा कमजोर त थिए नै, मानसिक रुपमा पनि उत्तिकै विक्षिप्त थिए।

'मेरा नजिकका साथीहरु टाढिएकोमा सबैभन्दा बढी पीडा थियो । मानिसहरु मलाई जिस्काउँथे, उडाउँथे र एचआइभी संक्रमित भनेर हेला गर्थे । यसले मलाई निकै कमजोर बनाएको थियो', प्रदीप विगत स्मरण गर्छन्।

उनले समाजबाट मात्रै अवहेलना खेप्नुपरेन, स्वास्थ्य परीक्षण गर्न जाँदा अस्पतालका स्वास्थ्यकर्मीबाट समेत दुर्व्यवहार सहनुपर्‍यो । डाक्टरहरुले उनलाई छि:छि दूरदूरको व्यवहार गरे।

मणिपुरको अस्पतालको एक कुनामा प्रदीपको बिछ्यौना थियो, उनी त्यहीँ डाक्टरलाई कुर्थे । तर, उनलाई जाँच्न कुनै डाक्टर आउँदैनथे । डाक्टरहरुको व्यवहारले उनलाई त्यहीँ प्राण त्यागूँ जस्तो भएको थियो । तर, परिवारप्रतिको मोहले उनले आफूलाई सम्हाले।

'स्वास्थ्यकर्मीको व्यवहारले आत्महत्या गरूँ झैं भयो । तर, परिवारप्रतिको मायाले जीवन त्याग्न सकिनँ', प्रदीप भन्छन्। 

मणिपुरमा मात्र होइन, प्रदीपले अन्यत्र समेत आफ्नो सुगठित शरीरको प्रशंसक पाएका छन् । धेरै व्यक्ति उनीबाट प्रभावित छन्।

प्रदीप आफ्नो सफलताको श्रेय आफ्नी भाइबुहारी देवीलाई दिन्छन् । प्रदीपलाई एचआइभी लागेको भान नगराउन परिवारमा विशेष भूमिका खेलेकी उनले उनको रेखदेख समेत गर्दै आइन् । अन्तत: परिवारका सबै सदस्यले उनलाई माया र साथ दिए । परिवार सक्रिय भएकैले जेठाजु आज यो स्थानमा पुगेको देवी बताउँछिन् ।

'हामीले उहाँलाई एचआइभी लागेको महसुस हुनै दिएनौं', उनी भन्छिन्, 'उहाँको लक्ष्य प्राप्तिका लागि प्रोत्साहन गर्‍यो।'

परिवारको पूर्ण साथ पाएका प्रदीप कुमारले आफ्नो आत्मबल कमजोर हुन दिएनन्।

प्रदीप आफ्नो प्रशिक्षक आफैं हुन् । उनले किताब हेर्दै व्यायाम सुरु गरे । एचआइभी भाइरसलाई निस्क्रिय बनाउने औषधिले उनलाई केही कमजोर बनाएको थियो । शरीरलाई चाहिने पौष्टिक तत्व खाएर उनले आफूलाई तन्दुरुस्त र बलियो बनाए।

'मेरो लक्ष्य एचआइभी संक्रमितले पनि जीवनमा महत्वपूर्ण उपलब्धि हात पार्न सक्छ, उनीहरुलाई प्रोत्साहन चाहिन्छ भनेर अरुलाई सिकाउनु थियो । परिवारले मेरो ख्याल गर्थे भने म मेरो लक्ष्यलाई ध्यान दिन्थेँ । अन्तत: म सफल भएरै छाडेँ', प्रदीप उत्साहित हुँदै भन्छन्।

मणिपुरमा मात्र होइन, उनले अन्यत्र समेत आफ्नो सुगठित शरीरको प्रशंसक पाएका छन् । धेरै व्यक्ति उनीबाट प्रभावित छन् ।

अरु संक्रमितहरु आफ्नो स्वास्थ्य अवस्थाबारे खुल्न डराउँछन् । प्रदीप भने आफ्नो स्वास्थ्य अवस्थाबारे खुलेर अरुलाई सुनाउँछन् । आफूलाई एचआइभी संक्रमितका रुपमा चिनाउँदा उनी हीनताबोध गर्दैनन्।

उनी हिम्मतका साथ भन्छन्, 'जीवनको दुई दशक म एचआइभीको भाइरससँग लडेँ, अब म एचआइभीलाई नकरात्मक दृष्टिले हेर्नेहरुको मानसिकता परिवर्तन गर्न लड्नेछु।'

आफ्नो लक्ष्य हासिल गरेका प्रदीपलाई समाजसँग कुनै दुखेसो छैन, गुनासो छ त केवल राष्ट्रिय एड्स नियन्त्रण संस्था- नाकोसँग।

'मेरो सफलता एचआइभी संक्रमितका लागि प्रेरणा र गौरव हो, तर नाकोले मलाई अहिलेसम्म कुनै परिचय दिएको छैन । उपचारमा पनि कुनै सहयोग भएको छैन', उनले भने।

विश्वमा एचआइभी संक्रमित धेरै रहेका मुलुकमध्ये भारत तेस्रो स्थानमा पर्छ । प्रदीप एचआइभी संक्रमित २१ लाख भारतीय नागरिकका लागि प्रेरणाका स्रोत हुन् । जीवनको दुई दशक एचआइभीसँग जुधेका प्रदीप ४६ वर्षको उमेरमा एचआइभी एड्सबारे जनचेतना जगाउन सक्रिय छन्।

शारीरिक सुगठन प्रतियोगिताबाट विश्राम लिइसकेका उनी हाल मणिपुरको युवा तथा खेलकुद विभागमा प्रशिक्षक छन्।

'शारीरिक सुगठनका लागि इच्छुक व्यक्ति दक्षिणपूर्वी भारतमा देखिएका छैनन् । सरकारले पनि यसलाई त्यति महत्व दिएको छैन । शारीरिक सुगठनको च्याम्पियन मणिपुरबाटै उत्पादन गर्ने मेरो चाहना छ,' उनले आफ्नो लक्ष्य सुनाए।

प्रस्तुति : शिशिर ढकाल, एजेन्सीहरुको सहयोगमा