काठमाडौं- आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ। शनिबार विराटनगरको शहीद रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले साङ्ग्रिला फुटबल क्लब मोरङलाई २-० ले पराजित गर्दै उपाधि जितेको हो।
शनिबार राति भएको निर्धारित ९० मिनेटको खेलमा दुवै समूहबाट गोल हुन नसकेपछि अतिरिक्त समयमा मच्छिन्द्र चम्किएको हो। खेलको ११३ औँ मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङ र ११९ औँ मिनेटमा युसुप थपलियाले गोल गरेका हुन्।
उपाधिसँगै मच्छिन्द्र क्लबले रु ११ लाख र साङ्ग्रिलाले रु पाँच लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगितका प्लेयर अफ द म्याच मच्छिन्द्रका लाकेन लिम्बू, सर्वोत्कृष्ट खेलाडी साङ्ग्रिलाका महेन्द्र कार्की, उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रका सन्तोष न्यौपाने र सर्वाधिक गोलकर्ता मछिन्द्रका स्टेफन विनोङले जनही रु २१ हजार नगद पुरस्कार पाएका छन्।
प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र अखिल नेपाल फुटवल सङ्घका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीले पुरस्कार प्रदान गर्नुभयो। प्रतियोगितामा नेपाल, भारत र भूटानका एक–एक र घरेलु आठसहित १० टोलीको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।