काठमाडौं– ‘आजभोलि बाबाको फोन किन आउँदैन? भन्दै छोरो रोइरहन्छ। छोराले त उसको बाबा बितेको बुझिसक्यो,’ लिलु लामो श्वास तान्छिन्, ‘नानी सानै छे, बुझ्ने बेला अलि भएको छैन।’
वैदेशिक रोजगारीका लागि रुस गएका धादिङ गंगाजमुना गाउँपालिकाका पूर्णबहादुर गुरुङ गत कात्तिक १८ गते रुस–युक्रेन युद्धमा अस्ताए। तर आफूलाई श्रीमान् बितेको सपनाजस्तै भइरहेको लिलु सुनाउँछिन्।
‘अहिले केही गर्ने जाँगर लाग्दैन। सधैं उहाँको याद आउँछ। नानीबाबुलाई खाना पकाएर खान समेत दिन सकिरहेकी छैन। तर जसोतसो नानीबाबुका लागि बाँच्ने कोसिस गरिरहेकी छु,’ उनी भन्छिन्।
लिलुका ११ वर्षका एक छोरा र साढे ४ वर्षकी एक छोरी छन्।
पूर्णबहादुरले गत कात्तिक १६ गते लिलुलाई वाट्सएपमा म्यासेज गर्दै भनेका थिए रे, ‘म तालिममा हुन्छु, फोन चलाउन मिल्दैन। ४ दिन कुराकानी पनि हुँदैन।’
त्यसपछि पूर्णबहादुर अफलाइन देखिए। त्यही दिनदेखि लिलु र पूर्णबहादुरको कुराकानी बन्द भएको थियो। पूर्णबहादुर तालिममा गएका छन् भनेर लिलु ढुक्क थिइन्।
कात्तिक २१ गते नानीबाबु आफन्तलाई हेरिदिनु भनेर धादिङबेसीबाट लिलु एक दिनको लागि गंगाजमुना गाउँपालिकास्थित घर गएकी थिइन्। भोलिपल्ट फर्कँदा बाटोमा गाडी लागेर केही खाइनन् उनले।
साँझ डेरा आइपुगेपछि करिब ७ बजे लिलुको फोनमा वाट्सएपमा कल आएको घण्टी बज्यो। श्रीमान्ले कल गरे होलान्, अब त फूर्सद पाएछन् भनेर खुसी हुँदै खल्तीबाट फोन झिकिन्।
तर, कल पूर्णबहादुरको नभएर पूर्णबहादुरका साथीको रहेछ।
‘उहाँले केही खबर पठाउनु भएको हेला भन्ने ठानेर फोन उठाएँ। तर उनले दाइ त यो संसारमा हुनुहुन्न, युद्धमा गएको बेला १८ गते बित्नु भएको भने। त्यो सुनेर मेरो होस नै गुम्यो। पछि मलाई आफन्तहरुले होसमा ल्याएछन्। अहिलेसम्म सपना जस्तै लागिरहेको छ,’ उनी सम्झिन्छिन्, ‘मलाई त युद्धमा जाँदैछु भनेर भन्नु भएन। त्यहाँ नेटवर्क नटिप्न सक्छ, ४ दिनको तालिम हो, त्यतिन्जेल कुरा हुँदैन भन्नु भएको थियो।’
ती साथीले पूर्णबहादुरका दाइको वाट्सएपमा भिडियो पठाए। त्यसपछि परिवारमा सबैलाई पूर्णबहादुरको युद्धमा मृत्यु भएको थाहा भयो।
‘आफन्तहरुले फोटो, भिडियो छ भन्नु हुन्छ मैले त्यो हेर्न सकेको छैन। तर मलाई विश्वास नै छैन। शव पनि ल्याउन पाइएन। अरुको परिवारलाई रुसले तपाईंको मान्छे मर्यो, यतै दाहसंस्कार गर्यौँ भनेर म्यासेज पठाएको छ भन्छन्। मेरो मा त म्यासेज पनि आएको छैन। उहाँको साथीले मात्रै भनेको हो। मृतकहरुको नामलिस्टमा पनि उहाँको नाम छैन,’ उनी सुनाउँछिन्।
पूर्णबहादुरले रुस जाने बेलामा आफूलाई नभनेको तर पुगिसकेपछि खबर गरेको पूर्णबहादुरका दाजु श्याम गुरुङ सुनाउँछन्।
‘रसिया गएको ४५ दिनमा आफूलाई एक हप्ताको लागि युद्धमा जान लागेको भनेको थियो। गएको ४ दिनपछि उसको साथीले मृत्यु भएको भिडियो पठाएको थियो। मेरो भाइ हो भनेर मैले क्लियरली चिनेँ। भाइको आर्मी भएपछिको फोटो र उसको नम्बर प्लेटको तस्बिर पनि छ,’ श्याम सुनाउँछन्।
तर शव नआउने भन्ने सुनेपछि आफ्नो परम्परा अनुसार दाह संस्कार गरिएको उनी सुनाउँछन्। अझै पनि शव ल्याउन सकिने भए ल्याउन पहल गर्ने उनी बताउँछिन्।
नेपालमा रोजगारी नपाएपछि पूर्णबहादुर यसअघि २०७८ सालमा ड्राइभिङ सिकेर साउदी अरब गएका थिए। साउदीमा भने जस्तो कमाइ नभएपछि २ वर्षमै नेपाल फर्किए। नेपालमा आइसकेपछि उनले धादिङबेसीको एक स्कुलको भ्यान चलाउन थाले। सो कामबाट मासिक १० हजार कमाइ हुन्थ्यो। बिहान बेलुका विद्यार्थीलाई ल्याउने पुर्याउने मात्रै थियो। दिनभरि फुर्सदी थिम पूर्णबहादुर।
फुर्सदको समयमा टिकटक लाइभ हेरेर बस्थे। गाउँकै चिनेजानेका एक व्यक्ति रुसबाट लाइभमा आएको भेटे। ती व्यक्तिसँग राम्रै चिनजान थियो। ती व्यक्तिले रुसमा काम र कमाइ राम्रो हुने धेरै खर्च नलाग्ने, सजिलै जान सकिने सुनाएछन्।
काम नपाएर छट्पटिएका पूर्णबहादुरलाई अब के चाहियो र। त्यहीँबाट एजेन्टको नम्बर मागेर रसिया जाने प्रोसेस गरे।
पूर्णबहादुरले आफन्तजन र साथीहरुसँग मागेर ९ लाख रुपैयाँ जम्मा गरेछन् र ८ लाख एजेन्टलाई बुझाएछन्। तर परिवारमा कसैलाई थाहा दिएनन्।
‘८ लाख रुपैयाँ एजेण्टलाई बुझाउनुभएछ। १ लाखको सपिङ गर्नुभएछ। मलाई त यो कुरा निकै पछि थाहा भयो। साथीको कुरामा भर परेर हामीलाई थाहा नदिई तयारी गर्नुभएछ। म कात्तिक १ गते नानीबाबु लिएर घर गएँ। उहाँ धादिङबेसी नै बस्नु भयो,’ उनले भनिन्।
‘त्यसपछि मैले घरबाट फोन गर्दा उहाँ काठमाडौं गइसक्नुभएछ। फोनमा म रसिया जाने भएँ, पर्सी ७ गतेको फ्लाइट छ भन्नु भयो। यस्तो सुनेपछि मेरो मन डरायो। नगएको भए हुन्थ्यो भनेर सम्झाएँ। तर उहाँले केही हुँदैन, चिन्ता नगर भनेर उल्टै मलाई सम्झाउनु भयो,’ उनी सुनाउँछिन्।
पूर्णबहादुर रुस पुगेको १५ दिनसम्म उनकी श्रीमतीसँग कुराकानी भइरहेको थियो।
‘फोन गर्दा नानीबाबु पनि बोल्थे। बाबासँग बोल्न पाउँदा कति खुसी हुन्थे। तर अहिले नानीबाबु पनि बाबा खै भन्दै रुन्छन्। मलाई त श्रीमान् बितेको सपना जस्तै लागेको छ,’ उनी सुनाउँछिन्।
सरकारले पनि मृतकको शव ल्याउने प्रोसेस गरेको भए अलिकति राहत मिल्ने उनको बुझाइ छ। शव नै नल्याए पनि आफ्नो छोराछोरीका लागि सरकारले केही पहल गरिदिनुपर्ने उनी बताउँछिन्।
‘मेरो श्रीमान् यत्तिकै विदेश गएको त होइन नि। नेपालमा रोजगारी नभएका कारण त विदेशिनु परेको हो। मेरो छोराछोरीका भविष्यका लागि नेपाल सरकारले हेरिदिनु पर्यो। नेपालको परराष्ट्र मन्त्रालय र नेपालस्थित रुसको राजदूतावास निवेदन त दियौँ। तर के हुने हो केही थाहा छैन,’ उनी भन्छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।