काठमाडौँ– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले व्यवस्था परिवर्तनको माग राख्दै मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन्।
यो आन्दोलन बन्दुक, बारुद बोकेर आउने वा सिंहदरबारमा आगो लगाउने, मानिसका घर जलाउने, नेपाली नागरिक र व्यापार व्यवसायमा तोडफोड गर्ने आन्दोलन नभएको उनले स्पष्ट पारेका हुन्।
प्रसाईंका अनुसार यो अभियान पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, १४ अञ्चल, ७५ वटै जिल्ला र १६५ वटै निर्वाचन क्षेत्रमा हुनेछ।
बुधबार मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आन्दोलन मङ्सिर ७ गतेदेखि नै सुरु हुने कुरा आजै भन्नुपरेको बताए। बिचमा मानिसहरू अलमलमा परेकोले यो घोषणा गर्नुपरेको उनको भनाइ थियो।
मङ्सिर ७ गतेको महत्त्वबारे प्रसाईंले भने, ‘यो दिन दिल्लीमा दलहरू र विद्रोही माओवादीबिच १२ बुँदे सम्झौता भएको थियो। त्यही १२ बुँदे सहमतिका कारण देशमा राजसंस्था गयो, हिन्दु अधिराज्य गयो, र आज नेपाली नागरिक विदेश गएर देश खाली भएको तथा विदेशीहरूको इसारामा एनजीओ र आईएनजीओका सरकारहरू चलेको छ।’
यो अभियान पशुपति र माता दुर्गालाई जोगाउने तथा घर छोडेर विदेश गएका नेपाली छोराछोरीलाई घर फर्काउने अभियान भएको उनले बताए। उनले सबै नेपाली नागरिकलाई यो व्यवस्था परिवर्तन गर्न आह्वान गर्दै मङ्सिर ७ गतेको आन्दोलनको लागि तयार रहन आग्रह गरे।
उनले आन्दोलन लगभग २० दिनपछि सुरु हुने भएकाले सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक डिजेल, ग्यास र दैनिक उपभोग्य वस्तुहरू घरमा राख्न सूचित गरे। मानव अधिकार आयोगलाई पनि आन्दोलनको अग्रिम जानकारी गराएको उनले बताए।
उनलाई सरकारले वार्ताको लागि आह्वान गरेको र थुन्ने कुरा मिडियामा आए पनि आफू भाग्ने अवस्थामा नरहेको र अब नभाग्ने उनले बताए। मानव अधिकार आयोगका अध्यक्षले पनि ‘तपाईंले उठाउनुपर्ने माग हामीले उठाउनुपर्ने हो दुर्गाजी’ भनेको उनले दाबी गरे।
उनले मङ्सिर ७ गतेदेखि व्यवस्था परिवर्तन नभई अवस्था परिवर्तन नहुने भन्दै सम्पूर्ण मानवअधिकारवादी, पत्रकार, र देश तथा विदेशमा रहेका सबै नागरिकलाई साथ दिन आह्वान गरे। उनले निजामती कर्मचारी र प्रहरीलाई पनि मङ्सिर ७ गतेदेखि बिदा बस्न अनुरोध गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।