काठमाडौं– नक्कली कागजात बनाएर भिजिट भिसामा हुने मानव तस्करीमा संलग्न भएको आरोप लागेका अध्यागमन विभागका ७ जना कर्मचारी नै डेढ महिनादेखि फरार भएको खुलेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनका अधिकृत नरवीर खड्का पक्राउ परेपछि बाँकी ७ जना अध्यागमनका कर्मचारी फरार भएका खुलेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अध्यागमन अधिकृत नरवीर खड्कालाई मंसिर २६ गते घुस लिँदै गरको बेला रंगेहात पक्राउ गरेको थियो। भिजिट भिसामा सेटिङ मिलाए बापत लिएको २ लाख रुपैयाँ लिँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो।
खड्का पक्राउ परेपछि नै अध्यागमनका ७ जना कर्मचारीहरु फरार भएको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। फरार हुनेहरुमा कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो रहेका अपराध अनुसन्धान कार्यालय स्रोतले जानकारी दियो।
खड्का पक्राउ परेपछि उनीहरुको संलग्नता खुलेको थियो। त्यसपछि प्रहरीले उनीहरुमाथि अनुसन्धान अगाडि बढाउँदा खड्का पक्राउ परेपछि नै उनीहरु कार्यालय नै नआइ सम्पर्कविहीन भएर फरार भएका प्रहरी स्रोतले बतायो।
उनीहरु फरार भएको १ महिनाभन्दा बढी समयपछि माघ ९ गते बल्ल पक्राउ पुर्जी जारी भएको छ। तर उनीहरु भने डेढ महिनादेखि नै कार्यालयमा गयल हाजिर भइ फरार भएका छन्।
उनीहरुको खोजी भइरहेको जनाएको छ। अहिलेसम्म पक्राउ परेकाहरुविरुद्ध भने प्रहरीले लिखतसम्बन्धी कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाएको छ।
भिजिट भिसामा विदेश जाने व्यक्तिहरुका शंकास्पद कागजातहरु देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा कार्यालयले अनुसन्धानका लागि भन्दै अपराध अनुसन्धान कार्यालयमा सुरुमा १ हजार ३२ थान कागजात पठाएको थियो।
ती कागजात भेरिफाइ गर्ने क्रममा नक्कली भेटिएपछि नक्कली कागजात बनाउने र सेटिङमा विदेश पठाउने गिरोहमाथि प्रहरीले अपरेशन चलाएको थियो। यो प्रकरणमा अहिलेसम्म ३९ जना पक्राउ परिसकेका छन्। नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रम स्वीकृत, प्लस टुको सर्टिफिकेट, नक्कली नाता प्रमाणितका कागजातहरु, कोभिडको नक्कली रिपोर्ट, नक्कली बैंक स्टेटमेन्ट, लगागतका कागजातहरु नक्कली बनाएर गिरोहले सेटिङमा भिजिट भिसामा विदेश पठाउने गरेको थियो।
यो गिरोह विदेश जान चाहनेहरुसँग सम्पर्क गरी कुन–कुन कागजात चाहिने रहेछ भन्दै बुझ्ने। त्यसपछि कागजात बनाउन लाग्ने रकमदेखि टिकट बुकिङ र होटल बुकिङको काम गर्ने गरेको खुलेको छ। नक्कली कागजातको आधारमा भिजिट भिसामा मान्छे पठाउँदा अध्यागमनका कर्मचारी बाधक बन्नसक्ने भन्दै उनीहरुलाई व्यक्ति ५० हजार रुपैयाँसम्म गिरोहले बुझाउने गरेको थियो।
त्यसैगरी विमानस्थलमा खटिएका प्रहरी, नेपाल वायु सेवा निगमका कर्मचारी, नेपाल एअरलाइनसका कर्मचारी सम्मलाई घुस खुवाउने गरेको पाइएपछि उनीहरुलाई समेत प्रतिवादी बनाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।