काठमाडौं– नक्कली कागजात बनाएर भिजिट भिसाका नाममा हुने गरेको मानव तस्करीमा संलग्न भएको आरोपमा अध्यागमनका शाखा अधिकृतसहित थप ८ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। यसअघि एक पटक १२ र अर्को पटक १० जना गरी २२ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। अहिले फेरि ८ जनाविरुद्ध मुद्दा दर्ता भएसँगै यो प्रकरणमा अहिलेसम्म ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।
सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा बुधबार मात्रै १८ जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ। पछिल्लो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा कार्यरत शाखा अधिकृत नरवीर खड्कासहित ८ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। सेटिङमा नक्कली कागजातमा भिजिट भिसामा मान्छे पठाउँदा लिएको २ लाख रुपैयाँ घुससहित खड्का रंगेहात पक्राउ परेका थिए। घुससहित पक्राउ परेका खड्कासहित सबैलाई कीर्तेको कसुरमा मुद्दा चलाइएको छ।
विमानस्थलमा सेटिङ गरे वापत पाउने २ लाख रुपैयाँ घुसहित रंगेहात पक्राउ परेका खड्काले आफूले सापटी लिएको भन्दै घुसलाई अस्वीकार गरेर बयान दिएका छन्। पछिल्लो पटक खड्कासँगै एड्भाइस म्यानेजमेन्ट मल्टिपल ट्रेनिङ सेन्टर प्रालिका सञ्चालक गणेश पाण्डे, एसकेआई टुर्स एण्ड ट्राभल्स प्रालिका सञ्चालक दिनेश ज्ञवाली, एचआर इन्टरनेश्नल टुर्स एण्ड ट्राभल्स प्रालिका सञ्चालक रामप्रसाद भण्डारी, सकेआई टुर्स एण्ड ट्राभल्स कर्मचारी रबीन अर्याल, नीमा छिरिङ टुर्स एण्ड ट्राभल्सका सञ्चालक मनोज तामाङ, नीमा छिरिङ टुर्स एण्ड ट्राभल्सका कर्मचारी पदम लामासहितलाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजातको आधारमा भिजिट भिसामा विभिन्न देशमा मान्छे पठाउने गरेको आरोपमा सरकारी कर्मचारीदेखि विभिन्न ट्राभल एजेन्सीका सञ्चालकसम्मलाई पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको थियो। परिसर काठमाडौंले थप अनुसन्धान गरेर मुद्दा चलाउन सिफारिस गरेसँगै सरकारी वकिल कार्यालयहरु उनीहरुविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ।
अहिलेसम्म मुद्दा दर्ता गरिएका सबैविरुद्ध लिखतसम्बन्धीका कसुर लगाइएको छ। मुलुकी फौजदारी अपराध संहिताको दफा २७६ अनुसार कारबाहीको मागदाबी गरिएको छ। जसअनुसार सरकारी तथा सार्वजनिक लिखत कीर्ते गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। भिजिट भिसामा विदेश जाने व्यक्तिहरुका शंकास्पद कागजातहरु देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा कार्यालयले अनुसन्धानका लागि भन्दै अपराध अनुसन्धान कार्यालयमा सुरुमा १ हजार ३२ थान कागजात पठाएको थियो।
ती कागजात भेरिफाइ गर्ने क्रममा नक्कली भेटिएपछि नक्कली कागजात बनाउने र सेटिङमा विदेश पठाउने गिरोहमाथि प्रहरी अपरेशन चलाएको थियो। यो प्रकरणमा अहिलेसम्म ३५ जना पक्राउ परिसकेका छन्। नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रम स्वीकृत, प्लस टुको सर्टिफिकेट, नक्कली नाता प्रमाणित कागजातहरु, कोभिडको नक्कली रिपोर्ट, नक्कली बैंक स्टेटमेन्ट, लगागतका कागजातहरु नक्कली बनाएर गिरोहले सेटिङमा भिजिट भिसामा विदेश पठाउने गरेको थियो।
यो गिरोह विदेश जान चाहनेहरुसँग सम्पर्क गरी कुन–कुन कागजात चाहिने रहेछ भन्दै बुझ्ने। त्यसपछि कागजात बनाउन लाग्ने रकमदेखि टिकट बुकिङ र होटल बुकिङको काम गर्ने गरेको खुलेको छ। नक्कली कागजातको आधारमा भिजिट भिसामा मान्छे पठाउँदा अध्यागमनका कर्मचारी बाधक बन्नसक्ने भन्दै उनीहरुलाई व्यक्ति ५० हजार रुपैयाँसम्म गिरोहले बुझाउने गरेका थिए।
त्यसैगरी विमानस्थलमा खटिएका प्रहरी, नेपाल वायु सेवा निगमका कर्मचारी, नेपाल एअरलाइनसका कर्मचारीसम्मलाई घुस खुवाउने गरेको पाइएपछि उनीहरुलाई समेत प्रतिवादी बनाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।