काठमाडौं– सहकारी ठगी प्रकरणमा जोडिएका जीबी (गितेन्द्रबाबु) राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाका अनुसार राई विरुद्द शुक्रबार डिफ्युजन नोटिस जारी भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीले राइविरुद्ध डिफ्युजन नोटिस जारी गर्नका लागि भन्दै प्रहरी प्रधान कार्यालय नक्साललाई गत पुस ५ गते पत्राचार गरेको थियो।
कास्की प्रहरीको उक्त पत्रपश्चात इन्टरपोलको नेपाल शाखा नेसनल सेन्ट्रल ब्युरो (एनसीबी)काठमाडौंले प्रहरी अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमा पत्राचार गरेको थियो। एनसीबी काठमाडौंको अनुरोधपछि इन्टरपोलले राईविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो।
डिफ्युजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनको खोजी गर्ने र फेला परेको बेला नेपाल फर्काउने प्रक्रिया सुरु गर्नेछन्। सहकारीको रकम हिनामिना गरेको प्रकरणमा जीबी राईसहित एक दर्जन व्यक्ति अझै फरार छन्।
महेन्द्र भोटेविरुद्ध पनि डिफ्युजन नोटिस जारीका लागि पत्राचार गरिएको थियो। तर इन्टरपोलाम पत्रचार गरेको विषय सार्वजनिक भएपछि भोटेसँगै भविश्वर अर्याल आफैं अदालतमा उपस्थित भएका थिए। कास्की जिल्ला अदालतले उनीहरु दुबै जनालाई पुस १८ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो।
सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसहितका व्यक्ति पनि पक्राउ परिसकेका छन्। जिबी राई ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक समेत हुन्। उनीविरूद्ध अरू सहकारीमार्फत् ठगी गरेकोसमेत आरोप छ। कास्कीमा मात्रै १९ हजार भन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोप छ।
यो मुद्दा अहिले कास्की अदालतमा विचाराधीन छ। रकम हिनामिना प्रकरणमा सहकारी ऐन र मुलुकी अपराध संहिताको ठगीसम्बन्धी कसुरमा उनीहरुविरुद्ध मुद्दा चलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।