काठमाडौं– जर्जियामा भएको बालबालिकाको प्रतियोगिता ‘वर्ल्ड राइजिङ स्टार २०२४’मा नेपाली प्रतियोगी लोयाङ शेर्पाले शीर्ष उपाधि जितेका छन्।
कपनको त्रिज्योति स्कुलमा कक्षा ७ मा अध्ययनरत लोयाङले ४० देशका बालबालिकालाई पछि पार्दै शीर्ष उपाधि जितेका हुन्। प्रतियोगिताको ट्यालेन्ट राउन्डमा ‘रेशम फिरिरी’ बोलको गीत गाएका उनले विधातर्फ ‘ट्यालेन्ट राउन्ड’को अवार्ड पनि सुरक्षित गरे।
प्रतियोगितामा सहभागी एन्जल बाबु कट्टेलले ‘ट्यालेन्ट अवार्ड’ र सनिस्ता रेग्मीले ‘युरोसिया’ अवार्ड जिते।
उनीहरू प्रतियोगितामा सहभागी भई मंगलबार बिहान काठमाडौं फर्किएका छन्।
त्रिभूवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लोयाङले शीर्ष उपाधि जित्दा खुशी लागेको बताए। ‘मैले धेरै स्थानमा स्टेजमा उपस्थिति जनाइसकेको छु। त्यसकारण जर्जियाको प्रतियोगितामा स्टेजमा उभिँदा डर लागेन । शीर्ष उपाधि जित्छु भन्नेमा म ढुक्क थिएँ’, उनले भने।
शेर्पाले प्रतियोगिताको ‘कल्चरल राउण्ड’मा शेर्पा जातिको पोसाक बख्खु लगाएका थिए। उनले आफूले त्यहाँ धेरै साथीहरु बनाएकाले उनीहरुलाई नेपाल आउन निम्तो पनि दिएको खुलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।