काठमाडौं– रौतहटबाट प्रहरीले १८ लाख ४३ हजार नक्कली नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही नगरपालिका८ पटेल चोकका २५ वर्षीय सन्दीप यादव रहेका छन्।
पक्राउ परेका यादवको साथबाट नेपाली नोट नक्कली एक हजार दरको नोट १,८४३ थान जम्मा १८ लाख ४३ हजार, विभिन्न बैंकको एटीएम कार्ड पाँच थान, १६ लाख ६५ हजार उल्लेख भएको तीन थान चेक र ओप्पो कम्पनीको एक थान मोबाइल बरामद गरिएको छ।
जाली नोटको ठूलो मात्रामा कारोबार भइरहेको सम्भाव्यतालाई मध्यनजर गर्दै अनुसन्धानका लागि खटिएको टोलीले चेकजाँच गर्ने क्रममा बुधबार साँझ ६ बजेतिर देवाही गोनाही नगरपालिकाको पेटल चोकमा आकस्मिक जाँच गर्दा यादवको साथबाट नक्कली नोट फेला परेको हो। यो प्रकरणमा अन्य व्यक्तिहरुको पनि संलग्नता रहेको खुलेको र उनीहहरुको पहिचान भइसकेकाले खोजी कार्य तीव्र पारिएको रौतहट प्रहरीले जनाएको छ।
यसअघि पनि साउन २१ गते एक दरको चार थानसहित चार जना, कात्तिक १० गते एक हजार दरको सात थानसहित तीन जना, मंसिर ३० गते एक हजार दरको २० थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।