काठमाडौं– जापान एअरलाइन्सको एक जहाजमा टोक्योको हनेडा विमानस्थलमा भीषण आगलागी भएको छ। स्थानीय समयअनुसार मंगलबार साँझ रनवेमा आगो लागेको हो।
जापान एअरलाइन्सको बिमानमा सवार सबै ३७९ यात्री र क्रु मेम्बरलाई सकुशल निकालिएको बताइएको छ। जापानको सरकारी ब्रोडकास्टर एनएचकेले जारी गरेको फुटेजमा विमानको झ्यालबाट धुँवाको मुस्लो निस्किरहेको देखिन्छ।
एनएचकेका अनुसार सम्भवत: यो आगो दुई रनवेमा दुई विमानबीच टक्करको कारण लागेको अनुमान गरिएको छ।
यस्तै बिमानमा सवार यात्रुमध्ये पाँच जना बेपत्ता रहेको बताइएको छ। एनएचकेका अनुसार कोस्टगार्डको प्लेनमा सवार एक व्यक्ति दुर्घटनापछि भाग्न सफल भएको र पाँच जनाको अवस्था अझै पत्ता नलागेको बताइएको छ।
रनवेमा रोकिएको कोस्ट गार्डको विमान र जापान एअरलाइन्सको विमान एक अर्कासँग ठोक्किएको बताइएको छ। स्थानीय समय अनुसार जापान एअरलाइन्सको विमान ५१६ ले साँझ चार बजे उडान भरेको थियो।
फ्लाइड राडार वेबसाइटका अनुसार यो विमान स्थानीय समयअनुसार साँझ ५ बजेर ४७ मिनेटमा हनेडा एअरपोर्टमा ल्याण्ड भएको थियो। दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।