काठमाडौं– ललितपुरको ग्वार्कोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडीमाथि आगजनीसहितको प्रदर्शनका क्रममा १ जनाको मृत्यु भएको छ।
बालकुमारी क्षेत्रमा भएको प्रदर्शन स्थलबाट उद्धार गरी अचेत अवस्थामा किस्ट अस्पताल लगिएका १ जनाको मृत्यु भएको हो।अस्पतालमा मृत्यु भएको स्रोतले जानकारी दियो। अन्दाजी २१ वर्षको युवाको मृत्यु भएको किस्ट अस्पतालका एक कर्मचारीले नेपाल लाइभलाई जानकारी दिए।
उनका अनुसार अचेत अवस्थामा अस्पताल ल्याइएका ती व्यक्तिको छातीमा रातो दाग थियो। गाडीमा आगजनी भएपछि स्थिति नियन्त्रणमा गोली चलाउँदा तीन जना घाइते भएको बताइएको छ।
मन्त्री ज्वालाले प्रयोग गर्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी भएको थियो। रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत् कोरिया जान नपाउने भएका युवाहरुले शुक्रबार मध्याह्न कोटेश्वर–बालकुमारी–सातदोबाटो सडक कब्जा गरी उग्र प्रदर्शन गरेका थिए। सोही क्रममा मन्त्रीको गाडी उक्त स्थानमा पुगेपछि युवाहरुको समूहले जलाएको थियो।
*यसअघि समाचारमा गोली लागेर १ जनाको मृत्यु भएको विवरण उल्लेख भए पनि अस्पताल भने मृतक युवकको शरीरमा गोली लागेको कुनै निशान नदेखिएको जनाएको छ। अस्पतालले दिएको पछिल्लो जानकारीअनुसार समाचारमा आवश्यक सम्पादन गरिएको छ– सम्पादक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।