काठमाडौं– पछिल्लो समय पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावित ६७ हजार बढी लाभग्राहीमध्ये आज (मंगलबार)सम्म ११ हजार ३३६ घर (अस्याथी आवास) निर्माण सम्पन्न भएका छन्। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण अनुसार अन्य १० हजार ११८ घर निर्माणाधीन छन्।
अहिले धमाधन अस्थायी आवासका लागि अनुदानबापतको रकम सम्झौता गरी बुझ्ने र घर निर्माण जारी रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए। उनका अनुसार जाजरकोटमा ५ हजार २०२, रुकुम पश्चिममा ५ हजार ७९८, सल्यानमा १९३, बझाङमा १३ र बाजुरामा १३० घर निर्माण सम्पन्न भइसकेका छन्।
पोखरेलले अहिलेसम्म केन्द्रबाट अस्थायी आवासका लागि २ अर्ब २६ करोड रकम जिल्ला विपत् व्यवस्थापन समितिमा पठाइसकिएको जानकारी दिए। त्यसमध्ये १ अर्ब ५३ करोड जिल्लाबाट स्थानीय तहमा पुगिसकेको छ। स्थानीय तहबाट प्रक्रिया पुगेका लाभग्राहीको खातामा भने ५८ करोड ७८ लाख रकम पठाइसकिएको पोखरेलले बताए।
अहिलेसम्म जाजरकोटमा ३५ हजार १४०, रुकुमपश्चिममा २३ हजार ६०८, सल्यानमा १ हजार ७३०, बझाङमा ४ हजार ५७६ र बाजुरामा २ हजार २२९ गरी कुल ६७ हजार ७८३ लाभग्राही कायम भएका छन्।
अझै झण्डै ५० हजार लाभग्राहीसँग अनुदान सम्झौता हुन बाँकी रहेकाले त्यो काम जारी रहेको प्राधिकरणका नीति तथा योजना महाशाखा प्रमुख भरतमणि पाण्डेले बताए। उनका अनुसार सुरुमा अस्थायी आवासका लागि सेवा लिने लाभग्राहीको सङ्ख्या गति कम भए पनि अहिले भने बढिरहेको छ।
लाभग्राहीको पहिचान हुँदै गएकाले सङ्ख्या थपिने क्रम बढेको भन्दै लाभग्राहीको सङ्ख्या ८० हजार पुग्ने अनुमान गरी सोहीअनुसार तयारी भइरहेको पाण्डेले जानकारी दिए। उनका अनुसार ८० हजार लाभग्राही हुँदा उनीहरूको अस्थायी आवासका लागि ४ अर्ब ७५ करोड लाग्ने भएकाले सोहीअनुसार बजेट व्यवस्थापनको तयारीमा प्राधिकरण लागेको छ। त्यसमध्ये २ अर्ब २६ करोड रकम पठाइसकिए पनि बाँकी रकमको जोहो गर्नुपर्ने उनको भनाइ छ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसअगाडि बझाङ केन्द्र भएर पनि भूकम्प गएको छ। पछिल्लो समयका भूकम्पले जाजरकोटसहित रुकुमपश्चिम, सल्यान, बझाङ, बाजुरामा क्षति पुर्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।