काठमाडौं- इजरायलको आक्रमणमा परी मृत्यु हुने प्यालिस्टीको संख्या १८ हजार नाघेको हमासद्वारा सञ्चालित स्वास्थ्य विभागले जनाएको छ। विभागका अनुसार अनुसार गत ७ अक्टुबरबाट सुरु भएको युद्धमा हालसम्म १८ हजार २०५ जना प्यालेस्टिनीको मृत्यु भएको छ।
गाजाको स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ तथ्याङ्क अनुसार हालसम्म इजरायली आक्रमणमा परी ४९ हजार ६०५ जना घाइते भएका छन्। गाजा पट्टीको दोस्रो सबैभन्दा ठूलो शहर खान युनिसमा इजरायली ट्याङ्कले प्रवेश गरेपछि आक्रमण थप तीव्र बनेको छ।
इजरायली ट्याङ्क विस्तारै खान युनिसको पूर्वी क्षेत्रतर्फ बढिरहेको बताइएको छ। यस क्षेत्रमा ठूला भवन, पसल र घना बस्ती छन्। साथै खान युनिसमा अझै पनि मानिसहरूको बसोबास कायमै रहेको छ। इजरायली सेनाले आइतबार बिहानै पम्प्लेट छर्दै खान युनिसमा बसोबास गरिरहेका नागरिकलाई अल–मवासी नामक क्षेत्रतर्फ जान भनेको छ। तर अल–मवासी निकै साँघुरो र आधारभूत सेवा नभएको क्षेत्र भएकाले सर्वसाधारण चिन्तामा छन्।
इजरायली सेनाले खान युनिसलाई लक्षित गरी आक्रमणलाई तीव्र बनाउँदै गर्दा मृत्यु हुने र घाइते हुनेको संख्या थप बढ्ने हुँदा संयुक्त राष्ट्र सङ्घले चिन्ता व्यक्त गरेको छ।
-बीबीसी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।