काठमाडौं- ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेल क्षेत्र ‘फुटपाथ पसल निषेधित क्षेत्र’ घोषणा गरेको छ। मंगलबार महानगर प्रहरी बलले सूचना टाँस्दै मंसिर २४ गतेदेखि मंगलबजारदेखि लगनखेल क्षेत्र फुटपाथ पसल निषेधित क्षेत्र हुने जनाएको हो।
अब उक्त क्षेत्रमा फुटपाथ पसल राख्न नदिने निर्णय भएको ललितपुर महानगर प्रहरी बल प्रमुख सीताराम हाछेथुले जानकारी दिए। सूचना टाँसेर यसका लागि सबैलाई सूचित गराउने काम भइरहेको उनले बताए।
उक्त क्षेत्रको फुटपाथ व्यापार व्यवस्थापन गर्नै कठिन भएपछि यस्तो निर्णय गरिएको महानगरपालिकाले जनाएको छ। फुटपाथ व्यापारीको संख्या अत्यधिक बढेपछि सुरक्षाका दृष्टिले समेत समस्या परेकोले यस्तो निर्णय लिनु परेको हाछेथुले बताएका छन्।
यसअघि ललितपुर महानगरपालिकाले बेलुकी ६ बजेपछि फुटपाथ व्यापार गर्न दिएको थियो भने बिहान ८ बजेसम्म फलफूल तथा तरकारी पसल राख्न छुट दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।