काठमाडौं– सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले काम थालेको छ।
उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा रहेको समितिले पूर्णता पाएसँगै काम थालेको हो। केही दिन अघि मन्त्रिपरिषद् बैठकले आयोगका लागि प्राविधिक जनशक्ति थप गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्को निर्णयानुसार अपुग जनशक्ति थप भएपछि आयोगले काम अगाडि बढाएको हो। अब आयोगले तीव्र रुपमा आशंकितहरुको बयान लिने समितिका १ जना सदस्यले जानकारी दिए।
सिंहदबारमा कार्यालय राखेको उक्त आयोगले तोकिएको अवधि भित्रै काम सक्ने गरि काम थालेको अध्यक्ष आचार्यले बताए। आफूहरुले काम सुरु गरेको, तर अहिले नै केही पनि बोल्न नमिल्ने अध्यक्ष आचार्यको भनाइ छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय चुरोट (भेप)मार्फत् भएको सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान आयोग (सीआईबी)ले गरेको अनुसन्धान अनुसार पूर्व सभामुख महाराका छोरा राहुलविरुद्ध पनि मुद्दा दर्ता भएको थियो। काठमाडौं जिल्ला अदालतको आदेशानुसार राहुल अहिले पुर्पक्षका लागि थुनामा छन्।
उनै राहुललाई बयानका लागि बोलाइएको आयोगका १ जना सदस्यले जानकारी दिए। राहुलसहित अन्यलाई पनि बयानमा बोलाउने पत्र तयार रहेको ती सदस्यले बताए।
राहुल थुनामा भएकाले उनलाई उपस्थित गराइदिनु भनेर कारागार कार्यालयलाई आयोगले पत्र पठाएको हो।
उनलाई आजै उपस्थित गराउन सक्ने सूचना आएको ती सदस्यले बताए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १३ भदौमा उनलाई पक्राउ गरेको थियो।
भेप प्रकरणमा ब्यूरोले २७ असार २०८० मा जिल्ला अदालतमा आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरेको थियो। उक्त प्रकरणमा पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष महराको पनि फोन सम्वाद भएको देखिए पनि उनविरुद्ध भने मुद्दा दायर भएन। आयोगले भने छोरा राहुलको बयानपछि महराको बारेमा निर्णय गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।