काठमाडौं– अन्तरजातीय विवाहको विषयलाई लिएर रुकुम पश्चिमको सोतीमा नवराज विकसहित ६ जनाको हत्या घटनाको मुद्दाको बहस सकिएको छ।
रुकुम जिल्ला अदालतका न्यायाधीश डा खड्कबहादुर केसीको इजलासमा मंगलबार बहस सकिएको हो। मंगलबार सुरुमा प्रतिवादीका कानुन व्यवसायीले बहस गरेका थिए। त्यसपछि जाहेरीकर्ताका कानुन व्यवसायीले समेत बहस सकेका हुन्।
आइतबारदेखि सुरु भएको नियमित सुनुवाइअन्तर्गत अभियोजनकर्ता (सरकारी पक्ष) र जाहेरीकर्ता (पीडित पक्ष)को बहस गरेका थिए।
जाहेरीकर्ताका तर्फबाट बहस गरेका अधिवक्ता आरसी गौतमले मंगलबार आफूहरुले जबाफी बहस सकेको बताए। जबाफी बहस सकिएपछि न्यायाधीश केसीले केही घण्टामा फैसला आउने भनेर बताएको गौतमले जानकारी दिए।
१० जेठ २०७७ मा जाजरकोटको रानागाउँका २१ वर्षीय नवराज विक साथीसहित आफ्नी प्रेमिका रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीसँग विवाहको कुरा गर्न पुगेका थिए। दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै सोती गाउँका स्थानीयले नवराज सहित उनका साथीलाई लेखेटेर हत्या थिए।
उक्त घटनामा ६ जनाको ज्यान गएको थियो भने १२ जना घाइते भएका थिए। मृतकहरुको शव भेरी नदीमा भेटिएको थियो। घटनाका सन्दर्भमा छानबिन गर्न नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय छानबिन समिति समेत गठन गरिएको थियो। संसदीय समितिले उक्त घटना नियोजित रुपमा भएको निष्कर्ष निकालेको थियो।
घटनाका सन्दर्भमा प्रहरीको अनुसन्धानपछि सोती गाउँका ३४ जनालाई प्रतिवादी बनाउँदै रुकुम पश्चिम जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। प्रतिवादीहरुविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सजाय मागदाबी गरिएको छ।
मुद्दाका अभियुक्तमध्ये जिल्ला अदालतले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। ११ जनालाई भने तारेखमा छाडिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।