काठमाडौं– अन्तरजातीय विवाहको विषयलाई लिएर रुकुम पश्चिमको सोतीमा नवराज विकसहित ६ जनाको हत्या घटनाको मुद्दाको बहस अन्तिमतिर पुगेको छ।
रुकुम जिल्ला अदालतका न्यायाधीश डा खड्कबहादुर केसीको इजलासमा आइतबारदेखि सुरु भएको नियमित सुनुवाइअन्तर्गत अभियोजनकर्ता (सरकारी पक्ष) र जाहेरीकर्ता (पीडित पक्ष)को बहस सकिएको छ। सोमबार प्रतिवादीका तर्फबाट पनि केही कानुन व्यवसायीले बहस गरेका थिए।
प्रतिवादीका तर्फबाट बहस गर्न बाँकी रहेका कानुन व्यवसायीले आज (मंगलबार) बहस गर्नेछन्। प्रतिवादीका कानुन व्यवसायीले बहस सकेमा मंगलबार नै जवाफी बहस पनि हुने रुकुम पश्चिम जिल्ला अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए।
सोमबार प्रतिवादीका तर्फबाट बहस गरेका कानुन व्यवसायीले अभियोजन एकमुस्टमा भएकाले सबैलाई सफाइ दिनुपर्ने माग गरेका थिए। नियोजित हत्या नभइ दुवै पक्षका बीचमा भिडन्त भएको दाबी उनीहरुले गरेका थिए।
आइतबार २ जना सरकारी वकिल र ९ जना पीडित पक्षका कानुन व्यवसायीले बहस गरेका थिए। आइतबार र सोमबार साँझ ६ बजेसम्म नै बहस भएको थियो। रुकुम पश्चिम जिल्ला अदालतका प्रवक्ता कोइरालाका अनुसार २ जना प्रतिवादीका कानुन व्यवसायी र जवाफी बहस बाँकी छ। उक्त बहस मंगलबार चिया सत्र अघिसम्म सक्ने अनि सम्भव भए फैसला नै सुनाउने तयारी अदालतको रहेको उनले बताए।
१० जेठ २०७७ मा जाजरकोटको रानागाउँका २१ वर्षीय नवराज विक साथीसहित आफ्नी प्रेमिका रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीसँग विवाहको कुरा गर्न पुगेका थिए। दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै सोती गाउँका स्थानीयले नवराज सहित उनका साथीलाई लेखेटेर हत्या थिए।
उक्त घटनामा ६ जनाको ज्यान गएको थियो भने १२ जना घाइते भएका थिए। मृतकहरुको शव भेरी नदीमा भेटिएको थियो। घटनाका सन्दर्भमा छानबिन गर्न नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय छानबिन समिति समेत गठन गरिएको थियो। संसदीय समितिले उक्त घटना नियोजित रुपमा भएको निष्कर्ष निकालेको थियो।
घटनाका सन्दर्भमा प्रहरीको अनुसन्धानपछि सोती गाउँका ३४ जनालाई प्रतिवादी बनाउँदै रुकुम पश्चिम जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। प्रतिवादीहरुविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सजाय मागदाबी गरिएको छ।
मुद्दाका अभियुक्तमध्ये जिल्ला अदालतले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। ११ जनालाई भने तारेखमा छाडिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।