काठमाडौं- परराष्ट्र मन्त्रालयले रुस-युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रुस सरकारसँग अनुरोध गरेको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै मृतकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन अनुरोध गरेको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले रुसी सरकारलाई निजहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको छ।’
यसअघि हालसम्म चार जना नेपालीको रुसी सेनामा भर्ती भएर मृत्यु भएको सार्वजनिक भएको थियो। तर सोमबार मन्त्रालयले ६ जना नेपालीको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ ।
मृत्यु हुनेमा गोरखाका सन्दिप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवार राई, पुतलीबजार स्याङजाका प्रितम कार्की, मेलुङ दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेको मन्त्रालयले जनाएको छ।
नेपालले रुसी सेनामा नेपाली नागरिकलाई भर्ना नलिन रुसलाई आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई अनुरोध गरिएको छ।’
साथै, कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरुको सेनामा भर्ना नहुन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयले सम्झौता अन्तर्गत केही मित्रराष्ट्रहरुको राष्ट्रिय सेनामा नेपाली नागरिकहरु भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति नरहेको उल्लेख गरेको छ ।
रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्न कुटनीतिक पहल भइरहेको पनि मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।