रसुवा– चालु आर्थिक वर्ष २०८०/०८१ को प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका ८ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट ३ करोड ३१ लाख ८१ हजार १९८ रुपैयाँ बराबरको सामग्रीसमेत बरामद भएको छ।
पक्राउ परेकाहरुलाई बरामद सामग्रीसहित कानुनी कारबाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेलाई बुझाएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीले जानकारी दिए।
चीनबाट आयात गरेका ती सामग्री रसुवागढी, घट्टेखोला, टिमुरे र स्याफ्रुबेँसीसमेतका स्थानमा केही भारिया र केही विभिन्न सवारी साधनमार्फत काठमाडौंतर्फ लानेक्रममा प्रहरीले बरामद गरेको हो।
रसुवागढी नाकामा चोरी निकासी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालित छन्। प्रहरीले गत वर्ष पनि १ करोड ५१ लाख ५६ हजार २३० रुपैयाँ बराबर भन्सार छलीका सामग्री बरामद गरी कानुनी कारबाहीका लागि भन्सार कार्यालय टिमुरेलाई बुझाएको थियो।
यस्तै, जिल्ला प्रहरी कार्यालयले चालु आवको हालसम्म विभिन्न घटनाका १४ थान मुद्दा जिल्ला सरकारी वकिलमार्फत् अदालतसामु पेस गरेको छ। यसरी पेस भएका मुद्दामा लागुऔषध, कर्तव्य ज्यान, चोरीलगायत कसुरसँग सम्बन्धित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।