रुकुम पश्चिम- भूकम्प प्रभावित क्षेत्रका सञ्चारकर्मी, सञ्चारमाध्यम र दूरसञ्चारको अवस्था निरीक्षणका लागि रुकुम पश्चिम आएकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष यहाँका पत्रकारले विभिन्न माग राखेर ज्ञापनपत्र बुझाएका छन्।
नेपाल पत्रकार महासङ्घ रुकुमपश्चिम शाखाले यहाँका पत्रकारका लागि आवश्यक सहयोग माग गरी सो ज्ञापानपत्र बुझाएको हो।
कोरोना महामारीको चपेटामा परेको सञ्चार क्षेत्र भूकम्पको थप विपद्मा परेकाले यसको सामना गर्नका लागि सरकारका तर्फबाट सहयोग आवश्यक रहेको सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
शाखाका लक्ष्मण अध्यक्ष केसीका अनुसार मन्त्री शर्मासँग भूकम्पबाट क्षति पुगेका सञ्चारमाध्यामको भवन निर्माण र उपकरण खरिदमा सहयोग गर्न र भूकम्पप्रभावित पत्रकारहरुलाई सहुलियत दरमा उपकरण खरिदको व्यवस्था गरिदिन माग गरिएको छ।
त्यसैगरी, भूकम्पप्रभावित क्षेत्रका सञ्चारमाध्यामहरुको नवीकरणमा लाग्ने शुल्क छुट गरिदिन र सूचना विभागद्वारा यस क्षेत्रमा घुम्ती शिविर सञ्चालन गर्ने व्यवस्थाका लागि महासङ्घले माग गरेको छ।
महासङ्घ रुकुमपश्चिम शाखाले कर्णाली प्रदेशका सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि तथा सञ्चारमाध्यमको सबलीकरणका लागि विशेष प्याकेजको माग गरेको छ भने प्रभावित क्षेत्रका सञ्चारमाध्यमलाई इन्टरनेट र विद्युत् सेवा निःशुल्क गरिदिने व्यवस्थाका लागि पनि माग गरेको छ।
प्रभावित पत्रकारहरुका लागि मनोसामाजिक सेवा लक्षित कार्यक्रम, फेलोसिप लक्षित कार्यक्रम, पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमाको निरन्तरता, जिल्लाका विज्ञापनहरु स्थानीयस्तरका मिडियालाई नै दिनुपर्ने नीतिगत व्यवस्थाको माग पनि सो ज्ञापनपत्रमार्फत गरिएको छ।
जिल्ला शाखा अध्यक्ष केसीले पत्रकारहरुको न्यूनतम पारिश्रमिक राज्यले कडाइका साथ लागू गर्नुपर्ने र अनलाइन मिडियाहरुको उचित व्यवस्थापन तथा लोककल्याणकारी विज्ञापनका लागि पहल गरिदिन माग गरेको जानकारी दिए।
–रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।